


धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुला जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग छलफल गरेका छन्।
उनले आगामी बजेट तथा विकास निर्माणका विषयमा छलफल गरेको मुख्यमन्त्रीकाे सचिवालयले जनाएको छ।
छलफलमा स्थानीय तह र प्रदेशबीचको समन्वय, आगामी बजेटको प्राथमिकता, विकास निर्माणका आयोजना, स्वास्थ्य सेवा सुधार, सुशासन तथा योजना कार्यान्वयनका विषयमा छलफल भएको थियो।
मुख्यमन्त्री भट्टले विकास निर्माणका नाममा टुक्रे तथा खरिद–बिक्री केन्द्रित योजना बनाउने प्रवृत्ति अन्त्य गर्दै नीति, विधि, पद्धति र प्रणालीअनुसार योजना छनोट तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। प्रदेश गौरवका आयोजना, बहुवर्षीय योजना तथा दीर्घकालीन महत्वका सडक र पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
उनले महाकाली करिडोरसँग जोडिएका आयोजना तथा बहुवर्षीय सडकलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउँदै विकास निर्माणमा हुने भ्रष्टाचार, अनियमितता र बिचौलियाको अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताउँदै मुख्यमन्त्री भट्टले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने बताए। दार्चुलाको गोकुलेश्वर अस्पतालको सेवा सुधार गरी आवश्यकताअनुसार प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्न पहल गरिने उनले बताए।
स्थानीय तहको सिफारिस र आवश्यकताका आधारमा योजना छनोट हुनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले प्रदेशबाट विनियोजन भएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए।
प्रदेशका आफ्नै आर्थिक स्रोत वृद्धि गर्दै विकासलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता समेत उनले औँल्याए।
छलफलमा मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी, महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिर, मालिकार्जुन गाउँपालिकाका अध्यक्ष हिरासिंह धामी, शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामी, व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी लगायत स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको थियो।
छलफलमा दार्चुलाका विभिन्न विकास आयोजना, सडक निर्माण, स्वास्थ्य सेवा, स्थानीय आवश्यकताका आधारमा योजना छनोट तथा प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वयका विषयमा समेत सुझाव आदानप्रदान गरिएको थियो।
सुदूरपश्चिम प्रदेश

