


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृह मन्त्रालयले अपिल गरेको छ।
बाढीका कारण रसुवाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट आएको बाढीले टिमुरे बजार आसपासमा क्षति पुर्याएको हो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन।
गृह मन्त्रालयले अर्को सूचना जारी नभएसम्म भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको भन्दै रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
खोज तथा उद्धार आवश्यक परे वा कुनै किसिमको सहायता आवश्यक भए टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र ती क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक्नसमेत आग्रह गरिएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवातर्फ उडेका छन्।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार थप एउटा हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ।
सेनाको टोली स्थलमार्गबाट समेत घटनास्थलतर्फ परिचालन गरिएको छ। सम्भावित जोखिममा रहेका नागरिकको खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको जनाइएको छ।
भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि प्रधानमन्त्रीको सचिवालयले समेत सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।
सम्भावित उद्धार तथा राहत कार्यमा आवश्यक परे हेलिकप्टर परिचालन गर्न सकिने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको हो।
सरकारले नदीको बहाव र बाढीको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।
नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरिएको छ।


