


o रोहित राज गिरी
भोटेकोशीमा आएको प्रलयकारी बाढीले केवल नदीको किनार बदलिएको छैन, धेरै मानिसको जीवनको बाटो नै बदलिदिएको छ।
हिजोसम्म जहाँ घर थिए, त्यहाँ आज भग्नावशेष छन्। जहाँ बालबालिकाको हाँसो सुनिन्थ्यो, त्यहाँ अहिले सन्नाटा छ। कसैको घर बगेको छ, कसैको पसल, कसैको खेतबारी। कसैले जीवनभर जोडेको सम्पत्ति गुमाएको छ। कसैले आफ्नो प्रियजन! अनि कसैसँग गुमाउन बाँकी केही छैन, सिवाय झिनो आशा ।
भोटेकोशीको भेलले बगाएको पानी केही समयपछि शान्त होला। नदी आफ्नो धारमा फर्किएला। सडक बन्लान्, पुल उठ्लान्, घर फेरि ठडिएलान्। तर बाढीले मानिसको मनमा बनाएको घाउ यति सजिलै पुरिने छैन।
त्यसैले अहिले भोटेकोशीलाई राहत मात्र होइन, हाम्रो साथ चाहिएको छ।
यहीबीच हाम्रो घर–आँगनमा रक्षाबन्धन र हरितालिका तीज आइपुगेका छन्। नेपाली समाजका लागि यी केवल चाडपर्व होइनन्, सम्बन्ध र आत्मीयताका पर्व हुन्। रक्षाबन्धनले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सम्झाउँछ। तीजले महिलाको भावना, माइतीको सम्झना र पारिवारिक आत्मीयता बोकेको हुन्छ।
तर यसपटक त्यही चाडपर्वको ढोकामा एउटा प्रश्न उभिएको छः
के हामी आफ्नो घरमा खुसी मनाइरहँदा भोटेकोशीका ती घरहरूलाई बिर्सन सक्छौँ, जहाँ चुलो बल्ने अवस्था छैन? हामीमध्ये धेरैले यसपालि पनि नयाँ कपडा किन्नेछौँ। मिठा परिकार बनाउनेछौँ। दाजुभाइ–दिदीबहिनी भेट्नेछौँ। दर खानेछौँ। उपहार साटासाट गर्नेछौँ।
त्यो गलत होइन।
तर आफ्नो खुसीको एउटा सानो हिस्सा दुःखमा परेको अर्को परिवारका लागि छुट्याउन सक्यौँ भने त्यो खुसीको अर्थ अझ ठूलो हुनेछ।
हामीले तीजमा गर्ने एउटा खर्च रोक्न सक्छौँ। रक्षाबन्धनमा दिने एउटा उपहारको रकम सहयोगमा बदल्न सक्छौँ। आफ्नो क्षमताअनुसार केही सय, केही हजार वा जति सकिन्छ त्यति रकम भोटेकोशी पीडितका लागि दिन सक्यौँ भने त्यो महान कर्म हुनेछ।
र त्यो सहयोग केवल रकम हुनेछैन-
कसैका लागि त्यो एक छाक खाना हुनेछ।
कसैका लागि औषधि हुनेछ।
कसैका लागि अस्थायी छानो हुनेछ।
कसैका लागि भत्किएको घर फेरि उठाउने पहिलो इँटा हुनेछ।
र कसैका लागि—‘हामी एक्ला छैनौँ’ भन्ने भरोसा हुनेछ।
हामीले कहिलेकाहीँ ठूलो परिवर्तनका लागि ठूलो सहयोग चाहिन्छ भन्ने ठान्छौँ। तर विपत्तिमा सानो–सानो हातहरू जोडिँदा नै ठूलो सहारा बन्छ।
एउटा हातले अर्को हात समाउँदा मानिस उठ्छ।
एउटा परिवारले अर्को परिवार सम्झिँदा समाज बलियो हुन्छ।
र संकटमा एउटा नागरिकले अर्को नागरिकलाई साथ दिँदा देश बलियो हुन्छ।
आज भोटेकोशीमा परेको विपत्ति त्यहाँका मानिसको मात्र विपत्ति होइन। त्यहाँ रोइरहेका आमाबुवा हाम्रै हुन्। राहतको प्रतीक्षामा रहेका दाजुभाइ–दिदीबहिनी हाम्रै हुन्। बाढीले भविष्य अनिश्चित बनाइदिएका बालबालिका पनि हाम्रै हुन्।
हामी फरक ठाउँमा जन्मिएका हुन सक्छौँ। हाम्रो घर फरक हुन सक्छ। हाम्रो भाषा, जीवनशैली र परिस्थिति फरक हुन सक्छ।
तर दुःखको बेला हामी सबैको आँसुको भाषा एउटै हुन्छ।
त्यसैले यसपालि रक्षाबन्धनको धागो केवल नाडीमा नबाँधौँ, मानवताको सम्बन्धमा पनि बाँधौँ।
यसपालि तीजको खुसी केवल आफ्नो घरभित्र सीमित नराखौँ, भोटेकोशीका उजाडिएका घरसम्म पुर्याउने प्रयास गरौँ।
सरकारले राहत तथा पुन:स्थापनाका लागि सार्वजनिक गरेको आधिकारिक बैंक खाता तथा क्यूआर कोड मार्फत सहयोग गरौँ।
सहयोग गर्दा माध्यम पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पीडितका नाममा उठेको रकम वास्तविक पीडितसम्म पुगोस्, राहत पारदर्शी र व्यवस्थित रूपमा परिचालन होस् भन्ने सुनिश्चितताका लागि आधिकारिक माध्यमबाटै सहयोग गर्नु उचित हुन्छ।
किनकि, अहिले हामीले देखाउनुपर्ने कुरा आफ्नो सामर्थ्य होइन, संवेदना हो।
यो वर्ष तीजमा एउटा गहना कम लगाउँदा फरक पर्दैन।
रक्षाबन्धनमा एउटा उपहार कम दिँदा केही हुँदैन।
एउटा भोज अलि सानो गर्दा इज्जत जाँदैन।
तर त्यही बचतले यदि कुनै परिवारको चुलो बल्छ भने, त्यो त्याग होइन- सबैभन्दा सुन्दर पर्व मनाउने तरिका हुनेछ।
चाडपर्व हरेक वर्ष आउँछन्।
खुसी मनाउने अवसर फेरि आउँछन्।
तर विपत्तिमा परेको मानिसलाई ठीक त्यही क्षणमा दिइएको साथको मूल्य कहिल्यै दोहोरिँदैन।
त्यसैले यसपालि हाम्रो चाडपर्वले एउटा नयाँ अर्थ पाओस्।
यो तीज– भोटेकोशीका दिदीबहिनीका लागि होस्।
यो रक्षाबन्धन– भोटेकोशीका दाजुभाइका लागि होस्।
यो खुसी– दुःखमा परेकाहरूका लागि पनि होस्।
हामीले उनीहरूको सबै दुःख हटाउन नसकौँला।
बगेका घर फर्काउन नसकौँला।
गुमेको सम्पत्ति तुरुन्तै जुटाउन नसकौँला।
तर एउटा कुरा अवश्य गर्न सक्छौँ :
उनीहरूलाई यो महसुस गराउन सक्छौँ कि,
विपत्तिले उनीहरूको घर बगाए पनि,
नेपालीको मन बगाएको छैन। नेपाली पन बगाएको छैन।
आउनुहोस्, यसपालि आफ्नो खुसीको एउटा हिस्सा भोटेकोशीका लागि छुट्याऔँ।
पीडितको आँसु पुछौँ।
मानवताको हात समाऔँ।
सहयोगको बन्धन बलियो बनाऔँ।
किनकि अन्ततः चाडपर्वको सबैभन्दा ठूलो अर्थ पनि यही हो– आफू खुसी हुनु मात्र होइन, अरूको दुःखमा पनि आफ्नो मन जोड्नु।


