Logo
२४ भदौ २०८३, बुधबार

गगन थापाप्रति मोहन बस्नेतको टिप्पणी– सरकारको भजन गाउने हुतीहारा !

अक्षरपाटी
२०८३ भदौ २४ , बुधबार ०४:०९ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापामाथि कडा टिप्पणी गर्दै उनलाई ‘हुतीहारा’ नेताको संज्ञा दिएका छन्।

भक्तपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै बस्नेतले सभापति थापाले प्रमुख प्रतिपक्षीको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाए। उनले थापामाथि सरकारको पक्षमा ‘भजन’ गाएर हिँडेको समेत टिप्पणी गरे।

‘गगन थापाजीले सरकारको भजन गाउनेबाहेक अरू काम केही गरिरहनुभएको छैन। यस्तो पनि प्रमुख प्रतिपक्षी दल हुन सक्छ ? हुतीहाराहरू,’ बस्नेतले भने।

उनले जेनजी आन्दोलनपछि कांग्रेसले आफ्नो भूमिकामाथि आत्मसमीक्षा गर्नुपर्ने भन्दै आफूहरूले नै सबैभन्दा पहिले विरोधसभा आयोजना गरेको दाबी गरे। थापा र महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले ‘हामीले गल्ती गर्‍यौँ, हाम्रा नेता मानेनौँ, हामी सुध्रिन्छौँ, सच्चिन्छौँ, माफी देऊ’ भन्दै हिँड्नु कमजोरी भएको टिप्पणी गरे।

‘जेनजीहरूको घटनापछि नेपालमा सबैभन्दा पहिला सभा गरेर विरोध गर्ने मान्छे यही समूहको कांग्रेस म हुँ। गगनजी र विश्वप्रकाशजीले हामीले गल्ती गर्‍यौँ, हाम्रा नेता मानेनौँ, हामी सुध्रिन्छौँ, सच्चिन्छौँ, माफी देऊ जेनजी हो भन्दै हिँडेको नालायक हुतीहारा हुन्,’ उनले भने।

बस्नेतले थापाले आफूलाई बीपी कोइरालाको राजनीतिक विरासतसँग जोडेर प्रस्तुत गर्ने गरेको विषयमा पनि व्यंग्य गरे। बीपी कोइरालाको जुत्ता आफूले लगाएर हिँडेको भन्ने अभिव्यक्ति व्यवहारमा मेल नखाने उनको भनाइ थियो।

‘बीपी कोइरालाको जुत्ता गगन थापाजीले लगाएर हिँडेको छु भनेर भन्नुभयो। पत्याउनेले पत्याइदिनुपर्‍यो नि,’ उनले भने, ‘व्यवहारमा हेर्ने हो भने ६ फुटको नेता हाम्रो बीपी कोइराला, ५ फुट ४ इन्चको गगनजीलाई त्यो जुत्ता मिल्छ ? ठिक हुन्छ ? हावा कुरा हो।’

बस्नेतले कांग्रेसको नेतृत्व र वर्तमान राजनीतिक भूमिकामाथि प्रश्न उठाउँदै पार्टीले प्रतिपक्षमा रहेर सरकारका गतिविधिको प्रभावकारी निगरानी गर्नुपर्ने बताए।

गगन थापा नेपाली कांग्रेस मोहन बस्नेत

ट्रेन्डिङ ( साप्ताहिक )