



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
पछिल्लो समय देशका विभिन्न स्थानमा ग्यासको अभाव देखिएपछि उद्योगमन्त्री यादवमाथि समस्या समाधान गर्न नसकेको भन्दै आलोचना बढ्दै गएको थियो।
बुधबार मात्रै संसदीय समितिको बैठकमा ग्यास अभावबारे जवाफ दिँदै मन्त्री यादवले समस्याको दोष उद्योगीमाथि लगाएकी थिइन्। उनले मन्त्रालयका कर्मचारीले समेत आफूलाई अपेक्षित रूपमा साथ नदिएको गुनासो गरेकी थिइन्।
ग्यास आपूर्तिको समस्या समाधानका विषयमा उद्योगी–व्यवसायीसँग समेत विवाद बढ्दै गएको थियो। मन्त्री यादवले उद्योगीलाई कारबाही गर्ने तथा लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएपछि व्यवसायीहरू असन्तुष्ट बनेका थिए।
मन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत सम्पर्क गरेका थिए। विवादास्पद अभिव्यक्ति फिर्ता नलिए सशक्त आन्दोलनमा जाने चेतावनीसमेत उनीहरूले दिएका थिए।
यहीबीच मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्। उनको राजीनामासँगै ग्यास आपूर्ति समस्या, उद्योगी–सरकारबीचको विवाद र मन्त्रालयको आगामी नेतृत्वबारे चासो बढेको छ।
पदबाट राजीनामा मन्त्री गौरीकुमारी यादव

