



काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको सुरक्षाको माग गर्दै प्रहरीलाई दिएको भनिएको निवेदन सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। तर प्रहरीले भने उक्त निवेदन आफ्नो कार्यालयमा प्राप्त नभएको जनाएको छ।
जबराको तर्फबाट उनका छोरा सचिन्द्रशमशेर जबराले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई सम्बोधन गर्दै निवास, परिवारका सदस्य र आफ्नो जिउज्यानको सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन आग्रह गरेको पत्र सार्वजनिक भएको हो।
उक्त निवेदनमा पछिल्लो समय देशको अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न विषयका कारण आफू र परिवारको शान्ति सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ।
त्यसैगरी, विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारणसमेत आफूले असुरक्षा महसुस गरेको निवेदनमा उल्लेख गरिएको छ।
निवेदनमा आफ्नो सम्पूर्ण विवरण सुरक्षा निकायलाई जानकारी रहेको उल्लेख गर्दै निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुग्नुपर्ने माग गरिएको छ।

तर उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सोमेन्द्र सिंह राठोरले जबराले सुरक्षा मागेको उक्त बेहोराको निवेदन कार्यालयमा प्राप्त नभएको बताएका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेले पनि त्यस्तो पत्र आफ्नो कार्यालयमा नआएको बताएका छन्।
यसअघि नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार मध्यरात जबरालाई ‘सुरक्षा थ्रेट’सम्बन्धी सूचना आएको भन्दै नियन्त्रणमा लिएको थियो। उनलाई आइतबार अपराह्न छाडिएको थियो।
जबरालाई नियन्त्रणमा लिएको र छाडिएको घटनाक्रमकै बीच सुरक्षा माग गरिएको भनिएको पत्र सार्वजनिक भएपछि उक्त विषय थप चर्चामा आएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

