


काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ अत्यन्त शक्तिशाली समुद्री आँधीमा परिणत भएपछि भारतका तटीय राज्यहरूमा उच्च सतर्कता अपनाइएको छ।
चक्रवातले मंगलबार र बुधबार आन्ध्र प्रदेश तथा ओडिशाका विभिन्न क्षेत्रमा भीषण वर्षा र विनाशकारी हावाहुरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार पश्चिम–मध्य बंगालको खाडीमा रहेको चक्रवात अत्यन्त गम्भीर चक्रवाती आँधीमा परिणत भएको छ। हाल यो आन्ध्र प्रदेशको विशाखापट्टनमबाट करिब ३०० किलोमिटर टाढा रहेको जनाइएको छ।
चक्रवात बुधबार (अक्टोबर २८) बिहान आन्ध्र प्रदेशको यनमनजिकैको तटीय क्षेत्रमा ठोक्किने अनुमान गरिएको छ। मौसम विभागका अनुसार चक्रवात तटमा पुग्ने समयमा प्रतिघण्टा ११५ देखि १२५ किलोमिटरको गतिमा हावाहुरी चल्न सक्नेछ। हावाको अधिकतम वेग प्रतिघण्टा १४० किलोमिटरसम्म पुग्ने चेतावनी दिइएको छ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश र दक्षिणी ओडिशाका तटीय क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ।
चक्रवात ‘अर्नब’को प्रभाव : ६० भन्दा बढी रेल सेवा रद्द
चक्रवात ‘अर्नब’को सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतीय रेलवेले नोभेम्बर ४ सम्मका लागि ६० भन्दा बढी रेल सेवा रद्द गर्नुका साथै केही रेलको सञ्चालन तालिका परिवर्तन गरेको छ।
रेलवेका अनुसार अक्टोबर २७ र २८ मा मात्रै ५३ वटा रेल सेवा रद्द गरिएको छ। राजमुन्द्री–विजयवाडा, विजयवाडा–मछलीपट्टनम, मछलीपट्टनम–गुडीवाडा, काकीनाडा–विशाखापट्टनम र पार्वतीपुरम–विशाखापट्टनमलगायतका मार्गमा चल्ने रेल सेवा प्रभावित भएका छन्।
चक्रवातका कारण भीषण वर्षा र तीव्र हावाहुरी चल्ने पूर्वानुमानपछि यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रेल सेवा स्थगित गरिएको भारतीय रेलवेले जनाएको छ।
ओडिशाका ६ जिल्लामा उच्च सतर्कता
चक्रवातको जोखिम बढेपछि ओडिशा सरकारले राज्यका ६ जिल्लामा विशेष सतर्कता जारी गरेको छ। गन्जाम, गजपति, रायगडा, मलकानगिरी, कोरापुट र नवरंगपुर जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा राखिएको छ।
सम्भावित विपद्को तयारी र उद्धार व्यवस्थापनको अनुगमन गर्न ओडिशाका मुख्यमन्त्रीले आठ जना मन्त्रीलाई जिम्मेवारी दिएका छन्। जोखिमयुक्त क्षेत्रमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), ओडिशा विपद् द्रुत प्रतिकार्य बल (ओडीआरएएफ), अग्निनियन्त्रण टोली र सुरक्षाकर्मी परिचालन गरिएको छ।
सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न ओडिशा सरकारले २२५ वटा अग्निनियन्त्रण टोली परिचालन गरेको छ। यसका अतिरिक्त राष्ट्रिय विपद् प्रतिकार्य बलका टोलीलाई संवेदनशील जिल्लामा तयारी अवस्थामा राखिएको छ।
चक्रवातका कारण हुन सक्ने डुबान, बाढी, रुख ढल्ने तथा भौतिक संरचनामा क्षति पुग्ने जोखिमलाई ध्यानमा राख्दै उद्धार संयन्त्रलाई सक्रिय बनाइएको छ।
तीन दिन विद्यालय र आंगनवाडी केन्द्र बन्द
चक्रवातको जोखिमलाई मध्यनजर गर्दै ओडिशाको गन्जाम जिल्ला प्रशासनले अक्टोबर २७ देखि २९ सम्म सबै आंगनवाडी केन्द्र बन्द गर्ने निर्णय गरेको छ।
बालबालिका र गर्भवती महिलाको पोषण सेवामा असर नपरोस् भनेर घरघरमै सुक्खा खाद्यान्न पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। त्यस्तै, राज्य यातायात प्राधिकरणले तटीय सडकमा सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष निर्देशन जारी गरेको छ।
भारतीय मौसम विभागका अनुसार चक्रवात मंगलबार साँझसम्म पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने र त्यसपछि उत्तरपश्चिमतर्फ मोडिने सम्भावना छ। चक्रवातको प्रभावले अक्टोबर २८ र २९ मा आन्ध्र प्रदेश तथा ओडिशाका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
अक्टोबर ३० देखि भने वर्षाको तीव्रता क्रमशः घट्दै जाने मौसम विभागको पूर्वानुमान छ। यसैबीच, चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै नेपालमा समेत नदी जलाधार क्षेत्रमा वर्षा र बाढीको जोखिमबारे सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ। विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदी प्रणालीमा वर्षाको सम्भावित प्रभावबारे सम्बन्धित निकायले निगरानी बढाएका छन्।
कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न भागमा वर्षा हुने र विशेषगरी नारायणी, बागमती, कमला तथा कोशी नदी जलाधार क्षेत्रमा नदीको जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने प्रारम्भिक पूर्वानुमान गरिएको छ।
नेपाल सरकारको जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको प्रारम्भिक जोखिम आकलनअनुसार कात्तिक १३ र १४ गते बाढीको जोखिम तुलनात्मक रूपमा बढी रहने देखिएको छ।
ओडिशा

