Logo
१७ कात्तिक २०८३, मंगलबार

राष्ट्रिय संस्थाहरू कमजोर हुँदा राष्ट्रिय शक्ति खुम्चिन्छ : नैनसिंह महर

अक्षरपाटी
२०८३ कात्तिक १७ , मंगलबार ०२:११ मा प्रकाशित

काठमाडाैं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले राष्ट्रिय संस्थाहरू कमजोर हुँदै जाँदा राष्ट्रिय शक्ति पतनको जोखिम बढ्ने बताएका छन्। उनले न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरूको स्वतन्त्रता, विश्वसनीयता र संस्थागत सुदृढीकरणमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले पछिल्ला केही दिनयता विशेष सेटिङबाट न्यायपालिकासहित राज्यका केही प्रमुख संस्थाहरू विवादमा मुछिएको समाचारले गम्भीर प्रश्नहरू उठाएको उल्लेख गरेका छन्।

‘हाम्रा राष्ट्रिय संस्थाहरू कमजोर हुँदै गएको र राज्यको समग्र शक्ति खुम्चिँदै गएको अनुभूति भइरहेको छ। यस्तो अवस्थामा राष्ट्रिय शक्ति पतनको जोखिमबारे गम्भीर बहस र सचेतना आवश्यक छ,’ महरले भनेका छन्।

नेता महरले नेपाली कांग्रेस कानुनी राज्य र विधिको शासनमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै न्यायपालिकाको स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्। न्यायपालिकाको स्वतन्त्रतामाथि कुनै पनि प्रकारको धावा स्वीकार्य नहुने उनको भनाइ छ ।

‘कुनै व्यक्ति वा प्रवृत्तिको स्वार्थका लागि सिङ्गो न्यायपालिकालाई बदनाम गर्ने चलखेल गरियो भने त्यसले राष्ट्रिय शक्तिलाई कमजोर पार्दै अराजकता र षड्यन्त्रलाई नै बल पुर्‍याउनेछ,’ उनले उल्लेख गरेका छन्।

यद्यपि, बाहिर आएका गम्भीर विषयहरूलाई बेवास्ता गर्न नहुने स्पष्ट पार्दै महरले निष्पक्ष छानबिन र आवश्यक कानुनी कारबाही अपरिहार्य रहेको बताएका छन्। संस्थाको स्वतन्त्रता जोगाउनु र संस्थाभित्र देखिएका गम्भीर प्रश्नहरूको निष्पक्ष निरूपण गर्नु दुवै लोकतान्त्रिक दायित्व भएको उनको आशय छ।

‘शक्तिशाली सरकार मात्र पर्याप्त हुँदैन, सक्षम राज्यका लागि बलिया राष्ट्रिय संस्था आवश्यक छन्’, राज्य सञ्चालनको सफलताका लागि केवल शक्तिशाली सरकार हुनु पर्याप्त नहुने महरको विश्लेषण छ। सरकार परिवर्तन भइरहने राजनीतिक प्रणालीमा राज्यका स्थायी संस्थाहरू सक्षम, स्वतन्त्र र जवाफदेही हुनुपर्ने उनले बताएका छन्।

उनले कुनै पनि देशको सफलता राष्ट्रिय संस्थाहरूको क्षमता, आर्थिक उन्नति र सक्षम तथा सबल नागरिकमा निर्भर रहने धारणा व्यक्त गरेका छन्।

‘बलियो राज्यले मात्र समृद्ध समाज, सामाजिक न्याय र राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्छ भन्ने मेरो विश्वास छ,’ महरले भनेका छन्।

नेपाली कांग्रेस नैनसिंह महर

ट्रेन्डिङ ( साप्ताहिक )