




काठमाडौं । भारतका स्वास्थ्य मन्त्री जेपी नड्डा र नेपालकी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री नीशा मेहताबीच भारत–नेपाल स्वास्थ्य सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
श्रीलंकाको कोलम्बोमा आयोजित पहिलो बिम्स्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकका अवसरमा नड्डाले मन्त्री मेहतासँग भेटवार्ता गरेका हुन्।
भेटमा द्विपक्षीय तथा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, स्वास्थ्य क्षेत्रमा विज्ञता र अनुभव आदानप्रदान तथा उत्कृष्ट अभ्यासको साझेदारीबारे छलफल भएको नड्डाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार नेपाल र भारतबीच लामो समयदेखिको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध स्वास्थ्य र विकास क्षेत्रमा रहेको निकट सहकार्यबाट थप मजबुत हुँदै आएको छ।
भेटमा सर्वसुलभ, किफायती र गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
नड्डाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपालसँग स्वास्थ्य क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले नेपालसँग मिलेर स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम हासिल गर्दै साझा क्षेत्रीय समृद्धिका लागि काम गर्ने बताएका छन्।
कोलम्बोमा जारी पहिलो बिम्स्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सदस्य राष्ट्रबीच स्वास्थ्य क्षेत्रमा सहकार्य, अनुभव आदानप्रदान र क्षेत्रीय स्वास्थ्य चुनौती समाधानका विषयमा छलफल भइरहेको छ।


