Logo
२५ कात्तिक २०८३, बुधबार

निबन्ध लेखेर कोलकाता पुग्ने अवसर, भारतीय दूतावासले माग्यो आवेदन

अक्षरपाटी
२०८३ कात्तिक २५ , बुधबार ११:११ मा प्रकाशित

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले २१ देखि २५ वर्ष उमेर समूहका युवा भारतीय नागरिकका लागि ‘Diaspora’s Connect with India’ विषयमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगितामा उत्कृष्ट हुने सहभागीले सन् २०२७ जनवरीमा भारतको कोलकातामा आयोजना हुने प्रवासी भारतीय दिवस समारोहमा सहभागी हुने अवसर पाउनेछन्।

राजदूतावासका अनुसार प्रतियोगिता आगामी नोभेम्बर २१ गते भारतीय राजदूतावास, काठमाडौंमा हुनेछ। सहभागीले बिहान १०ः३० बजेभित्र रिपोर्टिङ गर्नुपर्नेछ।

निबन्ध अङ्ग्रेजी भाषामा ९० मिनेटभित्र अधिकतम ८०० शब्दमा लेख्नुपर्नेछ।

प्रतियोगितामा सहभागी हुन चाहनेले भारतीय नागरिक भएको प्रमाणका रूपमा पासपोर्ट, मतदाता परिचयपत्र वा दूतावासमा दर्ता भएको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ।

इच्छुक सहभागीले नोभेम्बर १७ गतेसम्म आवेदन दर्ता गर्न सक्ने भारतीय राजदूतावासले जनाएको छ।

यो प्रतियोगिता भारतको विदेश मन्त्रालयको पहलअन्तर्गत आयोजना हुन लागेको हो।

प्रतियोगितामार्फत युवा पुस्तालाई भारतसँगको प्रवासी सम्बन्ध, सांस्कृतिक सम्बन्ध र भावनात्मक जोडबारे आफ्नो धारणा प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ।