Logo
२९ पुस २०८१, सोमबार

जंगबहादुर र अन्य प्रसंगसहितको किताब बजारमा

अक्षरपाटी
२०७९ फागुन १२ , शुक्रबार ०५:०२ मा प्रकाशित

काठमाडौं। नेपालको पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना बेलायती कुटनीतिज्ञ साथी ब्रायन हड्सनलाई भारतमा सन् १८७५ मा भएको सैनिक बिद्रोहपछि लेखेको चिठी र अन्य एतिहासिक प्रसंगसहितको किताब प्रकाशित भएको छ।

शिखा बुक्सले प्रकाशन गरेको सो किताबको नाम ‘तीन फरक विषयः फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ रहेको छ।

किताबको पहिलो अध्यायमा फोकल्याण्ड युद्ध लडेका सिपाहीको युद्ध अनुभव समेटिएको छ। जसमा शंकर राई, सुक्रिम राई, जंगबहादुर गुरुङ र अन्यले युद्धका कथा भनेका छन्।

फोकल्याण्ड युद्ध लडेका शंकर राई युद्धको केही वर्षपछि बर्खास्तीमा परेका थिए। शंकर लगायत अन्य ११० जनालाई अनुशासन उलंघन गरेको आरोपमा बर्खास्त गरिएको थियो। जसलाई ‘हवाई काण्ड’ भनिन्छ। सुक्रिम राईले अर्जेण्टिनामा विपक्षाीलाई बन्दी बनाएका थिए।

किताबको दोस्रो अध्यायमा पहिलो विश्वयुद्ध लडेका नेपाली मूलका सिपाहीका चिठी रहेका छन्। चिठीमा उनीहरुले लडाईको बारेमा लेख्न नपाइने र आफूहरुले दुःख पाएको लेखेका छन्।

तेस्रो अध्यायमा जंगबहादुरका केही नयाँ प्रसंग, उनको समयका केही चिठीपत्र र उनी आफैले लेखेका चिठी समेटिएका छन्। किताब श्रीभक्त खनाल र खेमराज राजाभाटले संयुक्त रुपमा लेखेका हुन्।

लेखकद्वय बेलायतमा रहेका ब्यवसायिक पत्रकार हुन्। दुबै जनाले नेपाल पत्रकार महासंघ बेलायत शाखले प्रदान गर्ने ‘वर्ष पत्रकारिता पुरस्कार’ प्राप्त गरेका छन्।

शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार किताबको केही समयपछि बेलायतमा एक कार्यक्रमका साथ लोकार्पण गरिने छ।