धरान। धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्ग आफ्नो नगरका जनतालाई खानेपानी खुवाउन अनेक उपाय अपनाइरहेका छन्।
श्रमदानमा सबैभन्दा बढी विश्वास भएका उनी सिंगो देशले श्रमदान गरे आर्थिक उन्नती हुनेमा विश्वस्त छन्।
तर पछिल्लो समय भने उनले देशविदेशबाट आर्थिक सहयोग जुटाउन आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका छन्।
श्रमदान बाट कोकाहाबाट धरानसम्मको करिब २७ किलोमिटरको लामो दुरीमा पाइप तान्ने काम भइरहेको छ।
कोकाहा खानेपानी सहयोग अभियानमा सहयोग पुर्याउने उद्देश्यले सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान नामक सांगीतिक कार्यक्रम उनले गीत प्रस्तुत गरेका हुन्।
धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुँदै धरान ल्याउन १४० एमएमको २० फिटे पाइप करिब ४ हजार पाँच सय आवश्यक छ।
त्यसका लागि पाइप खरिदमै मात्र ३ करोड बढी खर्च हुने अनुमान गरिएको छ। यही रकम जुटाउन सांगीतिक कार्यक्रम आयोजना गरिएको हो।
कन्सर्टमा नेपालका चर्चित गायक, गायिकाहरुले निःशुल्क गीत गाएका थिए। धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा अहिलेसम्मकै ठूलो संख्यामा दर्शकहरुको उपस्थिति थियो।
कन्सर्टमा चर्चित गायक राजेश पायल राई, गायक दीप श्रेष्ठ, दीपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, डिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्केले पनि गीत गएका थिए।
कन्सर्टमा मेयर साम्पाङले गीत गाउँदा उत्साहको लहर छाएको थियो। वडा नं २ का वडाअध्यक्ष रमेश राईले गीत गाउँदा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा पनि छमछमी नाचेका थिए।
धरान नृत्य कला प्रतिष्ठानले आकर्षक नृत्य प्रस्तुत गरेको थियो। अन्तिम प्रस्तुतीकोरुपमा गायक राजेश पायल राईको गीत सकिदा मध्यराति साढे १२ बजे बजिसकेको थियो।