० लीला अनमोल
यस्तो लाग्दैछ
कि पातहरु हरिया हुनेछन्
उघ्रिएर निलो आकाश
शीतलताको आभास हुनेछ औधी
फूलहरु फक्रिएर उसैगरी
सुगन्ध साट्नेछन् हावासँग ।
एउटा छुटै परिवेश
बोकेर झुल्किनेछ कलिलो घाम बिहानीमा
आशाको उरुङखात भएर मन
भरिएको छ टम्म यतिबिघ्न
कि मानौं
माहुरीले बनाएको चाका जस्तो रसिलो।
आफ्नै वशमा नहुने आफ्नै भनिएको
यदि कुनै त्यस्तो चिज छ भने
त्यो केवल मन रहेछ
म छु यहाँनेर
तर पुगिहाल्छ अगि नै तिम्रो समीप
पलपल यस्तो लागिरहेछ
रहर साटेर मुस्कान सजाउन
अब हाम्रो कहिले होला भेट ?