Logo
२४ भदौ २०८२, मंगलबार

बाजुरा र डोटीमा आँखा शिविर, २५ सयभन्दा बढीलाई सेवा

अक्षरपाटी
२०८० वैशाख ३१ , आईतबार ०४:०५ मा प्रकाशित

धनगढी। बाजुराको दुई स्थान र डोटीको एक स्थानमा संचालित आँखा शिविरमा २५ सयभन्दा बढीले सेवा लिएका छन्।

स्थानीय पालिका र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रोटरी क्लब अफ इल्भेरम नर्वे, र एक एक पाईला नेपालको सहयोगमा १० दिनसम्म सञ्चालित ३ वटा शिविरमा दुई हजार ५ सय ९७ जनाले आँखा उपचार सेवा लिएका हुन् ।

त्यसमध्ये ४ सय ३८ जना मोतिविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरेर लेन्स प्रत्यारोपण गरेर गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको छ। २ जनाको आँखाको अन्य रोगको पनि शल्यक्रिया गरिएको थियो। शिविरमा २ हजार एक सय ५७ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत पाएका छन्।

शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा खुशी भएका थिए।

गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र विशेषज्ञ एवं जलविन्दु विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा सेवा प्रदान गरेको थियो।

शिविरहरु बाजुराको भानोदय मावि टाँटे, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र डोटी जिल्लाको पवित्र आवासीय मावि सिलगढीमा संचालन गरिएको थियो।