Logo
२३ पुस २०८१, मंगलबार

सुदूरपश्चिम सरकारले आज पूर्णता पाउँदै

अक्षरपाटी
२०८० जेठ ६ , शनिबार ०८:०५ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ।

हिजै सरकार विस्तारको तयारी गरे पनि नागरिक उन्मुक्ति पार्टीले आज १० बजेसम्मका लागि समय माग गरेकाले सरकार विस्तार आजसम्मका लागि रोकिएको हो।

आज बाँकी चार मन्त्रालयमा मन्त्री नियुक्त हुन लागेको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्।

आज विस्तार हुने मन्त्रीमण्डलमा माओवादीका तर्फबाट रमेश धामी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री, झपट साउद सामाजिक विकास मन्त्री हुने करिब पक्का भएको छ। धामी कैलाली र साउद अछामबाट सांसद निर्वाचित भएका हुन्।

माओवादीबाटै गीतादेवी माल राज्य मन्त्री बन्ने करिब पक्का भएको छ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चोधरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बन्ने चर्चा छ। नाउपाकै लम्मण किशोर चौधरी पनि मन्त्रीका लागि सिफारिस भएका छन्।

लक्ष्मण किशोरले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाउन सक्ने सम्भावना छ।

कांग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंह पनि मन्त्री बन्ने करिब पक्का भएको छ। नाउपाले एक मन्त्री र एक राज्य मन्त्री लिएर सरकारमा गएको अवस्थामा सिंह आन्तरिक मामिला मन्त्री बन्ने छन्।

नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी गराउन कांग्रेसले सो मन्त्रालय नाउपालाई दिने सम्भावना पनि छ।

माघ २६ मा मुख्यमन्त्री भएका कमलबहादुर शाहले २७ गते कांग्रेसकै प्रकाश देउवालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त गरेका थिए।