Logo
९ पुस २०८१, मंगलबार

राजस्व छलीमा तानियो ठमेलको एलओडी क्लब, कारोबार खाता नियन्त्रणमा

अक्षरपाटी
२०८० साउन ३० , मंगलबार ०१:०८ मा प्रकाशित

काठमाडौं,३० साउन । ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजस्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन चलाएको छ । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।

क्लबमा प्रवेश गर्नेसँग मोटो रकम उठाएर न्यून मात्रामा कर दाखिला गरेको सूचनाका आधारमा छापा मारेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरे ।

‘ठूलो करछलीको सूचना पछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएका छौं,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

सो क्रममा क्लबमा आउनेहरुले तिर्ने र खास कर दाखिला खातामा चढाइने रकम बीचको भिन्नता जाँच गर्न विभागको टोली शुक्रबार रातभर नै बसेको थियो । विभागले उक्त क्लबबाट दैनिक हुने व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ ।

एलओडी नाइट क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, राजु सिंह सुवाल र श्याम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि विभागले पत्राचार गरेको छ । सबैभन्दा धेरै कारोबार हुने भनिएको शुक्रबार एलओडी नाइट क्लबको वास्तविक ग्राहक र कर दाखिला प्रक्रिया सबै बुझ्न लामो अप्रेशन चलाइएको विभागले जनाएको छ ।

फरक क्षेत्रमा हुने कर छलीका घटनामा विभागले सूक्ष्म निगरानी र आक्रामक अभियान सुरु गरेको पनि विभागका महानिर्देशक ढुंगानाले बताए ।