Logo
१५ वैशाख २०८१, शनिबार

हट्यो दोधारा चाँदनीका बासिन्दाको भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार ०१:०९ मा प्रकाशित

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ।

भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो ।

विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ। पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन्।

यसअघि पैदलयात्रु र दुईपाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो ।

महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए।

‘हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टौँ कुर्नुपर्ने बाध्यता थियो’, उनले भने,‘सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपाङ्ग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो।’

दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुईपाङ्ग्रे सवारी साधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो ।

महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसङ्ख्या छ ।