Logo
२४ कात्तिक २०८३, मंगलबार

कोप ३१ मा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे छलफल

अक्षरपाटी
२०८३ कात्तिक २४ , मंगलबार ०९:११ मा प्रकाशित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप ३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयक साइड इभेन्ट आयोजना गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा भएको कार्यक्रममा जलवायु परिवर्तनका कारण ऊर्जा पूर्वाधारमा भइरहेको क्षति, जोखिम न्यूनीकरण तथा स्वच्छ ऊर्जामा लगानी बढाउने उपायबारे छलफल भएको हो।

सांसद सागर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एआईटी थाइल्यान्डका प्राध्यापक डा. शोभाकर ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इन्जिनियर शिरीष पाण्डे, इप्पानकी ज्योति गैरे र जीजीजीआईका गुल्शन वशिष्ठ सहभागी थिए।

छलफलमा जलवायु जोखिम सामना गर्न ऊर्जा प्रणालीको उत्थानशीलता बढाउने, ऊर्जा सम्मिश्रण तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली विस्तार गर्ने र निजी तथा सार्वजनिक लगानी आकर्षित गर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा वक्ताहरूले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका लागि स्पष्ट नीति, वित्तीय संयन्त्र र निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका थिए। सत्रले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याएर स्वच्छ तथा जलवायु उत्थानशील ऊर्जा प्रणालीमा लगानीको वातावरणबारे छलफल गरेको आयोजकले जनाएको छ।

कोप ३१