Logo
७ वैशाख २०८१, शुक्रबार

सर्वाधिक राशीको गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप

अक्षरपाटी
२०७९ भदौ २९ , बुधबार १०:०९ मा प्रकाशित

काठमाडौं । काठमाडौंको बौद्धस्थित छोरतेन स्नुकर क्लबको आयोजनामा दोस्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर च्याम्पियनसिप आयोजना हुने भएको छ। प्रतियोगिता नेपाल स्नुकर तथा पूल संघले आयोजना गरेको कार्यक्रम हो।

असोज १५ गतेसम्म हुने यो प्रतियोगिता नेपालमा आयोजना भएको अहिलेसम्मकै सर्वाधिक ठूलो पुरस्कार राशीको हुनेछ।

प्रतियोगितामा देशभरका ५२ जिल्लाबाट २ सय ५६ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। खेलाडी छनोट, दर्ता, निर्णायकहरुको प्रबन्ध सबै नेपाल स्नुकर तथा पूल संघले गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताए। दुई वर्षअघि आयोजित कार्यक्रममा ४३ जिल्लाका खेलाडी सहभागी थिए।

१४७ ब्रेक प्वाइन्ट ल्याए १० लाख पुरस्कार

स्नुकर खेलमा १४७ ब्रेक प्वाइन्ट सबैभन्दा धेरै हो । १५ रातो र १५ कालो बल लगातार होलमा छिराएर त्यति अंक ल्याउनु अविश्वसनीय मानिन्छ।

त्यसैलै आश्चर्यजनक नतिजा निकाल्नेलाई १० लाख रुपैयाँको आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। विश्वस्तरमा पनि यो सफलता सीमित खेलाडीले मात्र पाएका छन्।

संघका अध्यक्ष मुल्मीका अनुसार अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले १४७ ब्रेक प्वाइन्ट ल्याउन सकेका छैनन्। हाल नेपाल नम्बर एक रेगन श्रेष्ठले बुधबारै १४० ब्रेक प्वाइन्ट ल्याएर कीर्तिमान बनाएको उनले जानकारी दिए।

त्यसैगरी सेन्चुरी ब्रेक अर्थात १०० भन्दा बढी ब्रेकप्वाइन्ट ल्याउने खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा ८० भन्दा बढी ब्रेक प्वाइन्ट ल्याउने खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार निर्धारण गरिएको छ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख ५१ हजार, उपविजेताले १ लाख ११ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, राइजिङ खेलाडी र अनुशासित खेलाडीलाई जनही ११ हजार तथा क्वाटरफाइनलमा पुग्ने खेलाडीलाई जनही ११ हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रतियोगिताका लागि खेलाडीले ३ हजार रुपैयाँ दर्ताशुल्क बुझाउनुपर्नेछ।

गोकर्णेश्वर