Logo
१५ वैशाख २०८१, शनिबार

बुटवलका अधिकांश मासु पसल फोहर

अक्षरपाटी
२०७९ भदौ १९ , आईतबार ०३:०९ मा प्रकाशित

बुटवल। बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित पाइएको छ। बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो।

चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो।

बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा बधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो।

अनुगमनका क्रममा तीनवटा पसलमा अखाद्य मासु बिक्री गरेको पाइएको छ भने अधिकांशमा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको उपप्रमुख अर्यालले बताइन्।

अखाद्य मासु भेटिएकालाई उपमहानगरपालिकामा बोलाइएको छ भने अन्यलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको उनले जानकारी दिइन्।

बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देवीनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरिएको छ।

यी मासु पसलबाट २२ किलोभन्दा बढी अखाद्य मासु फेला पारी नष्ट गरिएको बुटवल उपमहानगरका वरिष्ठ अधिकृत ठगिश्वर शर्माले बताए। बधशाला तथा मासु पसल सफा राख्न निर्देशन दिइएको उनको भनाइ छ।

देवीनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा बधशाला बनाएको पाइएको छ भने तिनकुनेमा रहेको निमेस मासु पसलको बधशाला निकै फोहर पाइएको छ।

यस्तै इँटाभट्टीको माइला मासु पसल, ज्योति माइला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजनफ्रेस हाउसमा अनुगमन गरी पसल सफा र व्यवस्थित बनाउन सचेत गराइएको छ।

अनुगमनका क्रममा उपप्रमुख अर्यालले चाडपर्वका समयमा मासुको प्रयोग बढी हुने भएकाले स्वच्छ र स्वस्थ्य मासुको बिक्रीवितरण हुनुपर्ने बताए।

मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भए पनि त्योअनुसार सञ्चालन नभएका कारण व्यवसायीलाई उपमहानगरपालिका कार्यालयमा बोलाइएको पशु चिकित्सक झवीन्द्र बञ्जाडेले बताए।

अनुगमनमा उपप्रमुख अर्यालसहित उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, उपभोक्ताहित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिति थियो।

बुटवल मासुपसल