Logo
२३ भदौ २०८१, आईतबार

बैंकको उच्च ब्याजले व्यवसाय धान्न मुस्किल

अक्षरपाटी
२०७९ असोज १३ , बिहीबार १०:०९ मा प्रकाशित

पोखरा। पोखराका व्यवसायीहरुले बैंकको ब्याज एक अंकमा झार्न माग गरेका छन्।

बैंकको चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै पर्यटन व्यवसायीले बैंक तथा वित्तिय संस्थालाई ब्याज घटाउन माग गरेका हुन्।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा संकट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने जनाउँदै एक अंकको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्न माग गरे।

उनले पछिल्लो समय वित्तीय संस्थाले ब्याज बढाउँदा व्यवसायीमा थप आर्थिक संकट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितिमा पु¥याउन लागेको बताए।

ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर व्यवसायीलाई सहुलियतरूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उनले आग्रह गर्दै आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्रीनीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गरे।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राखे। उनले महिलाको आर्थिक सशक्तीकरणका लागि सङ्घले पर्यटन व्यवसायी महिलासँग सहकार्य गरेर अघि बढ्ने जानकारी दिए।

कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औँल्याइन्। पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गए पनि निर्णायक तहमा अझै पुग्न नसकेको उनको भनाइ थियो।

संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मूल्यांकन गरेर फोरम उपलब्ध गराउनुपर्ने धारणा राखिन्। उनले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको बताइन्।

कार्यक्रममा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारी सल्लाहकार दुर्गा ढकाल, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, ओटेफका कोषाध्यक्ष लक्ष्मी लामिछाने, कार्यक्रम संयोजक माया सुवेदीलगायतले बोलेका थिए।

बैंकको ब्याज