Logo
१३ वैशाख २०८१, बिहीबार

बागलुङमा धमाधम नयाँ उद्योग थपिँदै

अक्षरपाटी
२०७९ भदौ २० , सोमबार ११:०९ मा प्रकाशित

बागलुङ। बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ।

आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन्। थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ।

एक वर्षको अवधिमा जिल्लामा उद्योगतर्फ एक सय ५० र वाणिज्यतर्फका दुई सय ६८ उद्योग तथा व्यवसाय दर्ता दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले जानकारी दिए।

शर्माका अनुसार जिल्लामा एक सय ५० साना तथा घरेलु उद्योगले वस्तुको उत्पादन र बजारीकरणमा जोड दिने गरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा दुई सय ६८ वस्तुको खरिद तथगा बिक्री, प्याकेजिङलगायतको कामका लागि दुई सय ६८ उद्योग दर्ता भएका हुन्।

खासगरी बागलुङवासीले निजी तथा कृषि प्रवद्र्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाइ छ। शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नवीकरण, ठाउँसरीबापत गत आवमा कार्यालयले २६ लाख ९४ हजार पाँच सय २५ राजस्व रकम सङ्कलन गरेको छ।

यस्तै उद्योगतर्फ नौ लाख ६३ हजार छ सय ५०, वाणिज्यतर्फ राजस्व १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित वस्तु बिक्रीबाट ५० हजार राजस्व सङ्कलन भएको छ।

यस्तै गत आवमा दुई सय ६८ उद्योगको नवीकरण, पाँच सय १३ वाणिज्यतर्फका उद्योगको नवीकरण, ३८ उद्योगको नामसरी, २० वाणिज्यतर्फको उद्योगको नामसरी, चार उद्योगको ठाउँ सरी, तीन वाणिज्यतर्फका उद्योगको ठाउँसरी, २१ उद्योगको लगत कट्टा, ९५ वाणिज्य उद्योगको लगत कट्टा, पाँच उद्योगको नाम परिवर्तन, २१ वाणिज्य उद्योगको नाम परिवर्तन, १४ उद्योगलाई प्रतिलिपि, वाणिज्यतर्फका २६ उद्योगलाई प्रतिलिपि, १५ उद्योगको पुँजीवृत्ति र ५७ वाणिज्यतर्फका उद्योगको पुँजी वृद्धि गरिएको छ।