Logo
१९ वैशाख २०८१, बुधबार

गुजरात पुल दुर्घटनामा मृत्यु हुनेको संख्या १४१ पुग्यो

अक्षरपाटी
२०७९ कात्तिक १४ , सोमबार ०१:१० मा प्रकाशित

एजेन्सी। भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल चुँडिदा मृत्यु हुनेको संख्या एक सय ४१ पुगेको छ।

स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन्। पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल आइतबार राति चुँडिएको थियो। हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन्।

बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो।

गुजरातका गृहमन्त्रीले उक्त हताहतीबारे जानकारी दिँदै मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन्। सो दुर्घटनाबारे आपराधिक मुद्दा दर्ता गरिएको छ। राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा आजैदेखि अनुसन्धान पनि थालिएको छ।

राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका दुई सयभन्दा बढीले खोज तथा उद्धारका काम रातभर च सञ्चालन गरेका थिए। चालीसभन्दा बढी चिकित्सक एवम् स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेको थियो।

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पुल भत्केर भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका काममा कुनै किसिमको ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले आफ्नो सरकार शोकाकुल परिवारका साथमा रहेको बताए।

गुजरात झोलुंगे पुल