Logo
८ वैशाख २०८१, शनिबार

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

अक्षरपाटी
२०७९ असोज ३० , आईतबार ०९:१० मा प्रकाशित

काठमाडौं। संस्कृतिविद् एवम् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ।

१०३ वर्षको उमेरमा उनको ललितपुरस्थित ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान निधन भएको हो।

पिसाब सम्बन्धि छाती तथा मुटुको समस्याबाट पीडित उनी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भएका थिए।

असोज ७ गते भर्ना भएर उपचाररत उनको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए।

अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। कलेजले जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो।

वि.सं. १९७७ वैशाख ३० गते जन्मिएका उनी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए। २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक उनले पाएका थिए। उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ ले २०२८ सालमा गरी उनले तीनपटक मदन पुरस्कार प्राप्त गरेका थिए।

नेपाल सरकारले उनको जन्म शताब्दीको अवसरमा एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशित गरेको थियो। जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक विदासमेत दिएको थियो। ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाले जोशीलाई निःशुल्क गाडी र सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो।

२०७१ सालमा तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यले संयुक्त रुपमा जोशीकै उचाइ बराबर पाँच फिट अग्लो सप्तनागजडित ताम्रपत्र र पाँच लाख नगदसहित शताब्दी पुरुष उपाधि प्रदान गरेका थिए।

२०७० सालमा उनी पद्मश्री साधनाबाट सम्मानित भएका थिए । नेपाल सरकारले उनलाई २०७९ को संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णय समेत गरेको थियो।

शताब्दी पुरुष सत्यमोहन जोशी