Logo
१३ वैशाख २०८१, बिहीबार

५ हजार मेट्रिक टन युरिया मल भित्रियो

अक्षरपाटी
२०७९ कात्तिक २९ , मंगलबार ११:११ मा प्रकाशित

पर्सा । कृषि सामग्री कम्पनीको ५ हजार मेट्रिक टन युरिया मल भित्रिएको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै आएको युरिया मलको पहिलो र्‍याक शनिबार र दोस्रो र्‍याक सोमबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले बताए ।

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनीको युरिया मल । एउटा रेल्वे र्‍याकले सामान्यतया २ हजार ५ सय मेटन मल बोक्छ । भारतको आईपीएल कम्पनीले ग्लोबल टेन्डरबाट कम्पनीको ३० हजार मेटन युरिया मल आपूर्ति गर्ने ठेक्का पाएको हो । उसले ओमानबाट खरिद गरी उक्त मल नेपाल ल्याएको हो ।

कुल ३० हजार मेटनमध्ये २२ हजार ५ सय मेटन मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आउँदै छ । त्यसमध्ये १२ हजार मेटन वीरगन्ज, १० हजार ५ सय मेटन भैरहवा प्रादेशिक कार्यालयले पाउनेछ । भैरहवाका लागि वीरगन्जबाट ढुवानी गरी मल लगिनेछ । बाँकी ८ हजार ५ सय मेटन विराटनगर प्रादेशिक कार्यालयले पाउने उनले बताए । विराटनगरको मल सोही नाकाबाट पुग्दै छ । वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा भित्रिएको युरिया मल माग भएका जिल्लाहरूमा परिचालनसमेत हुन थालेको कुमार बताउँछन् । ‘माग भएका जिल्लाहरूमा मल परिचालनको कामसमेत सुरु भइसकेको छ,’ उनले भने, ‘हेटौंडा, सिन्धुली, भरतपुर, जनकपुर, चन्द्रपुर, ढल्केवर, सिन्धुली, कलैया, पर्वत र दमौली कार्यालयहरूमा समेत गरी ५ सय ३५ मेट्रिक टन मल परिचालन भइसकेको छ ।’

गहुँ बाली सिजनका लागि यो मलको माग आउन थालेको र माग भएका जिल्लाहरूमा क्रमशः परिचालन भइरहने उनले बताए । मल भित्रिने क्रम जारी रहेकाले २ साताभित्र वीरगन्ज आउने २२ हजार ५ सय मेटन मल आइसक्ने सम्भावना रहेको उनले बताए । यसबाहेक भारत सरकारसँग जीटुजीमार्फत पनि थप ३० हजार मेटन युरिया मल खरिद गर्ने प्रक्रिया चलिरहेकाले त्यो मल पनि

गहुँ बाली सिजनकै लागि उपयोगी हुने गरी आउन सक्ने सम्भावना रहेको उनले बताए ।