Logo
४ वैशाख २०८१, मंगलबार

केन्द्रीय कारागारका सात कैदीबन्दीले गरे मतदान

अक्षरपाटी
२०७९ मंसीर ४ , आईतबार १०:११ मा प्रकाशित

काठमाडौं ४ मंसिर। केन्द्रीय कारागारमा रहेका सात कैदीबन्दीले जगन्नाथदेवल मतदान केन्द्रबाट मतदान गरेका छन् ।

आठ कैदन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिएका छन् ।

एक कैदीबन्दीको भने यसअघि नै अर्का कारागारमा स्थानान्तरण भएको थियो । बिहान ७ बजे नै मतदान सुरु भएकोमा ८ बजेअगावै उनीहरुले मतदान गरेका हुन । सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो ।

मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर्वाचनमा खटिइएकाले मतदान अधिकृत पाण्डेले मात्र सो केन्द्रबाट मतदान गरे । उनीहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मतदान गरेका हुन् ।

केन्द्रीय कारागार मातहत रहेका तीनवटा कारागारमध्ये केन्द्रीय कारागारमा चार र भद्र बन्दीगृहका तीन बन्दीले मतदान गरेका हुन् । महिला कारागारमा रहेका कैदीबन्दीको भने मतदाता नमावलीमा नाम नरहेको बताइएको छ । केन्द्रीय कारागारमा तीन हजार चार सय बढी कैदीबन्दी रहेका छन् ।

निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो ।