Logo
१९ साउन २०८३, मंगलबार

देवानगञ्ज घटनामा उपचाररत अर्का एक युवाको मृत्यु

अक्षरपाटी
२०८३ साउन १९ , मंगलबार ०१:०८ मा प्रकाशित

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

मृत्यु हुनेमा देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत मेहताको मंगलबार बिहान मृत्यु भएको हो।

झडपका क्रममा रवीन्द्रको बायाँ तिघ्रामा गोली लागेको थियो। प्रारम्भिक उपचार विराट नर्सिङ होममा गरिएपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको थियो। उपचारकै क्रममा उनको बायाँ खुट्टा काट्नुपरेको थियो। तर चिकित्सकहरूको प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको हो।

यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो। सरकारसँग सातबुँदे सहमति भएपछि दुवैको शव शुक्रबार घटनास्थलमै अन्त्येष्टि गरिएको थियो।

देवानगञ्ज घटनाकै विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।

उता, गोली लागेर घाइते भएका देवानगञ्ज–३ का १८ वर्षीय अमित यादव काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्। उनको हात र कोखमा गोली लागेको छ। उनलाई नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको थियो।

यस्तै, विराटनगरस्थित न्युरो अस्पतालमा देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव तथा देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहता उपचाररत छन्। मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो भने शल्यक्रिया गरी गोली निकालिएको अस्पतालले जनाएको छ। हरेरामको तिघ्राको माथिल्लो भाग र अमलेशको बायाँ पिठ्युँमा गोली लागेको छ।

त्यसैगरी, विराट नर्सिङ होममा देवानगञ्ज–३ का २५ वर्षीय सुनील मेहता तथा देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहता उपचाररत छन्। अमितकुमारको कम्मर, २६ वर्षीय सुनीलको बायाँ कुहिना तथा २५ वर्षीय सुनीलको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

१० साउनमा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना गम्भीर घाइते भएका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

देवानगञ्ज घटना विराटनगर

ट्रेन्डिङ ( साप्ताहिक )