Logo
७ वैशाख २०८१, शुक्रबार

गुल्मीमा धान उत्पादनमा कमी आयो

अक्षरपाटी
२०७९ मंसीर ११ , आईतबार १०:११ मा प्रकाशित

गुल्मी। गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ। गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

सुरुमा खडेरी परेको, फूल खेल्ने बेलामा पानी र हावा लागेको कारण धेरै पोकटो भएको पाइएको छ।

धान पाक्ने बेलामा पनि पानी पर्दा धान झरेको कारण यस वर्ष धानखेतीमा कमी आएको केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए।

गत वर्षभन्दा यस वर्ष वर्षे धान उत्पादनमा १४ प्रतिशतले कमी आएको उनले बताए।

जिल्लामा चैते धान तीन सय ४१ हेक्टरमा र वर्षे धान आठ हजार छ सय ७० हेक्टरमा गरी कुल नौ हजार ११ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आएको छ।

गत वर्ष चैते र वर्षे गरी २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष उत्पादन घटेर २३ हजार सात सय १८ मेट्रिक टन उत्पादन भएको बताइएको छ।