Logo
१५ वैशाख २०८१, शनिबार

दिनभरी तनावग्रस्त बनेको धनगढीमा निषेधाज्ञा

अक्षरपाटी
२०७९ मंसीर १५ , बिहीबार १०:१२ मा प्रकाशित

धनगढी १५ मंसिर। स्कुल जाँदै गरेकी एक बालिकालाई सडक निर्माण गर्दै गरेको ग्रेडरले किचेर ज्यान गएपछि उत्पन्न तनाव नियन्त्रणका लागि स्थानीय प्रशासनले आज साँझ ७ बजेदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको आदेश भोलि बिहान ७ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने जनाइएको छ।

जिप्रकाका सूचना अधिकारी शिवराज जोशीले पूर्वमा धनगढी उपमहानगरपालिका १ को फूलबारी बस बिसौनी, पश्चिममा वडा नं ४ को रातोपुल, दक्षिणमा वडा नं १ र २ को हुलाकी राजमार्ग र उत्तरको वडा नं ५ को सामुदायिक प्रहरी सेवा केन्द्रभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

पञ्चोदय मावि धनगढीमा कक्षा ८ मा अध्ययनरत चेतना साउदको ग्रेडरको ठक्करबाट बिहान मृत्यु भएको हो।

घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी हुनसक्ने अराजक गतिविधिलाई नियन्त्रण गर्न र सर्वसाधारणको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षणका लागि भन्दै स्थानीय प्रशासन ऐनबमोजिम आवतजावत गर्न, भेला, प्रदर्शन गर्न, घुमफिर गर्न सवारीसाधन चलाउन निषेध गरिएको जिल्ला प्रशासनद्वारा साँझ जारी सूचनामा उल्लेख गरिएको छ।

निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई कानूनबमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा उल्लेख छ।

साइकलमा पञ्चोदय माध्यमिक विद्यालयतर्फ गइरहेकी १५ वर्षीया चेतना साउदको कालिका कन्स्ट्रक्शनको ना १ ख ८७५ नंको ग्रेडरले ठक्कर दिएको थियो।

ग्रेडरले ब्याक गरेर बालिकाको मृत्यु भएको भन्दै आक्रोशित विद्यार्थीले दिनभरि धनगढी बजारको मुख्य सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

प्रदर्शनसँगै बजार क्षेत्रको आवामगन प्रभावित भएको थियो। प्रहरीले ग्रेडरसहित चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको शव साँझ सेती प्रादेशिक अस्पतालमा पु¥याइएको छ।

धनगढी निषेधाज्ञा