Logo
८ वैशाख २०८१, शनिबार

स्थानीय निर्वाचनको ७ महिना : कहाँ पुग्यो बालेन प्रतिवद्धताको सवाल

अक्षरपाटी
२०७९ पुस ७ , बिहीबार ०३:१२ मा प्रकाशित

० प्रतिभा रावल अर्याल

राजनीति दलको अकर्मन्यता, आफू र आफन्त केन्द्रित मनोग्रन्थीले आक्रान्त दलका नेताको विकल्प खोजिरहेका काठमाडौबासीले ठूलो आशा र अपेक्षाका साथ आफ्नो महानगरको नेतृत्वको जिम्मा बालेन शाहलाई दिए।

शाह निर्विकल्प थिएनन्, यदि त्यसबेला आम मतदातालाई नो भोटको अधिकार हुन्थ्यो भने सायद त्यो मत त्यतै जानेथियो भन्ने आकलन अहिले पनि हुने गरेको छ।

दलहरुले वर्षौँदेखि गर्दै आएको हावादारी प्रतिबद्धताको सामु बालेनले ल्याएको साना र मसिना समस्या सम्बोधन गर्ने प्रतिवद्धता आम सामान्य मतदाताका लागि गहकिला पनि थिए ।

लेखक : प्रतिभा रावल

उनले सरकारी कामकाज, जन्म, मृत्यु दर्ता घरमै सेवा प्रदान गर्ने, काठमाडौं सहरले भोग्दै आएका खाल्डाखुल्डीको समस्या समाधान गर्र्ने, फुटपाथको समस्या हल गर्ने, सार्वजनिक सौचालयको व्यवस्थापनदेखि पार्खिङको व्यवस्था गर्ने घोषणापत्र मार्फत प्रतिवद्धता गरे।

त्यो मात्रै नभएर राजधानीबासीले वर्षौँदेखि भोग्दै आएको फोहोर व्यवस्थापनको समस्या अल्पकालीन र दीर्घकालीन रुपमा समाधान गर्ने वाचा पनि गरेका थिए।

त्यो मात्र होइन, शैक्षिक संस्थाको अडिटदेखि मिसावट, सार्वजनिक यातायातलाई सुव्यवस्थिग गर्नेसम्मको योजना अघि सारेका थिए।

शाहले काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेको ६ महिना पुरा भइसकेको छ। यो अवधिमा शाहले सहरमा अनधिकृत रुपमा बनेका केही संरचनामा डोजर चलाए। जसका लागि ‘वाहवाही’ पनि कमाए। तर तिनै बालेन फुटपाथ र सडक व्यवसायीहरूमाथि गरेको धरपकडका कारण भने विवादित बने।

सुकुमबासी वस्ती हटाउने प्रयासमा उनको केही चल्न सकेन। उनको प्रमुखमध्येकै एक फोहोर व्यवस्थापन पनि उनकै शब्दमा ‘सोचेजस्तो भएन’।

समयमा फोहोर व्यवस्थापन नहुनु पनि काठमाडौंमा डेङ्गु फैलिनुको एउटा कारण मानिएको छ। राजधानीबासी डेंगुले हायलकायल हुँदा लामखुट्टे नियन्त्रणमा महानगरले देखिने कदम चाल्न सकेन। अझ पनि यो समस्या दोहोरिने सम्भावना उत्तिकै भए पनि आगमी दिनका लागि पनि महानगरले आफ्ना नागरिकलाई त्यसबाट सुरक्षित बनाउन विगतबाट पाठ सिकेको छ, छैन ? समयले देखाउने छ।

उनले अघि सारेको अर्को योजना स्रोतमा नै फोहरको वर्गिकरण गर्ने कार्य पनि अलपत्रै अवस्थामा छ।
उनले भनेको इन्सिनेरेटर जडान गर्ने योजना के भयो ? त्यो पनि सार्वजनिक भएको छैन।

अर्गानिक फोहोरलाई प्राङ्गारिकमा परिणत गरी नजिकका जिल्लाहरूमा बिक्री गर्नेसम्मका बालेन सपना के भए ? सार्वजनिक गरिएको छैन। कालोपत्रे गर्दा प्लास्टिक प्रयोग गर्ने भन्ने उनको योजनाअनुसार कति सडक कालोपत्रे गरिए या गरिँदै छन् त्यो पनि स्पष्ट छैन।

महानगरका ९२ सार्वजनिक विद्यालयमा शिक्षा र शैक्षिक पूर्वाधारको गुणस्तर सुधार गर्नेतर्फ देखिने गरी खासै प्रगति भएको छैन। निजी विद्यालयको शुल्क अडिट गर्ने काम कहाँ पुग्यो ? केही सार्वजनिक भएको छैन। आज पनि महंगो शुल्कको मार अभिभावकले भोगिरहेका छन्।

वडास्तरमै स्वास्थ्य क्षेत्रमा गर्ने भनिएका सुधारका कामहरू पनि अपपत्रै अवस्थामा छन्। पूर्वाधार एम्बुलेन्स नाममा मात्र सीमित छ।

यातायात व्यवस्थापन गर्न अवलम्बन गर्ने भनिएका सवारी साधनको सञ्चालन समय वर्गीकरण गर्ने कार्य पनि पुरा हुन सकेको छैन। हुन त त्यो कत्तिको व्यवहारिक छ, बहसकै विषय हो।

”सार्वजनिक शौचालय व्यवस्थापनको हकमा निजी कार्यलयहरुले उपलब्ध गराउने कुरा केही दिनको हल्ला बाहेक आम नागरिकका लागि सुविधाको विषय बन्न सकेन। रेस्टुरेन्टमा या बैंकहरुले कार्यालयमा रहेको शौचालय प्रयोग गर्ने कुरा प्रभावकारी भएको पाइँदैन। बरु केही बैंक, रेस्टुरेन्टले त्यसबेला यसलाई प्रचारको माध्यम भने बनाए”

सार्वजनिक शौचालय व्यवस्थापनको हकमा निजी कार्यलयहरुले उपलब्ध गराउने कुरा केही दिनको हल्ला बाहेक आम नागरिकका लागि सुविधाको विषय बन्न सकेन। रेस्टुरेन्टमा या बैंकहरुले कार्यालयमा रहेको शौचालय प्रयोग गर्ने कुरा प्रभावकारी भएको पाइँदैन। बरु केही बैंक, रेस्टुरेन्टले त्यसबेला यसलाई प्रचारको माध्यम भने बनाए।

यो सब भनिरहँदा, छ महिनामै उनको घोषणापत्र पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ भन्ने होइन। कैयौँ दल र उनीहरुको सरकारले तीन दशकदेखि नगरेको कार्य बालेनबाट ६ महिनामै अपेक्षा गर्नु पनि हतार होला। तर त्यही शैली र सोचमा परिवर्तन चाहेर काठमाडौंबासीले बालेनलाई चुनेका हुन्।

त्यसैले उनको कार्यदिशा कतातिर उन्मुख छ, यसको मूल्यांकन, स्वास्थ्य आलोचना र उनलाई झक–झक्याउने काम भने निरन्तर हुनैपर्छ। उनको मात्र होइन, स्वतन्त्र रुपमा जितेका धरानका हर्क राईदेखि धनगढीका गोपाल हमालको घोषणा र कार्यशिसामाथि झकझक्याउने बेला भने भएकै हो।

डोजर चलाउने लगायतका सार्वजनिक रूपमा हाइहाइ हुने कामतिर मात्र ध्यान दिने भन्दा पनि दीर्घकालीन योजनामा पनि नगरप्रमुख शाह, हमाल र राईहरुको ध्यान जाओस भन्नेमा खबरदारी गर्नैपर्छ।

राम्रो कामको प्रसंसा गर्दै गर्दा नेतृत्वकर्ताको कमी–कमजोरी औँल्याउनु पनि उत्तिकै आवश्यक हुन्छ। बालेनलाई असफल हुने छुट छैन। उनी असफल भएमा सम्पूर्ण युवा पुस्ताको आशा र भरोसामा चोट पुग्नेछ।

जनताको अपार सहयोग र समर्थन पाएका बालेनले ६ महिनामा जनताले अनुभव गर्नसक्ने आमूल परिवर्तनको संकेत खासै देखाउन सकेका छैनन्। यसमा उनीलगायत उपमेयर सुनिता डंगोल, जो महानगर नेतृत्व गरिरहेकी अर्की युवा हुन्, उनीहरूले गम्भीर रूपमा सोचेर गतिमा नतिजा आउने गरी काम गर्न जरुरी छ। उनले आफ्नो भूमिका देखाउन ढिला गर्नु हुँदैन।

हाम्रो मुलुकमा विकास र सम्वृद्धिको यात्राको गति यथास्थितिबाट फड्को मार्ने कार्य युवा नेतृत्वले गर्नसक्छ भन्ने विश्वास दिलाउन पनि बालेनले सही काम तीव्र गतिमा अगाडि बढाउन सक्नुपर्छ।

नतिजा आएन भने, कारण कसैले सुन्नेछैनन्। यसमा महानगरका मेयरको ध्यान जान जरुरी छ। उनका शुभचिन्तकहरू पनि उनलाई यसमा झकझकाइरहने जिम्मेवारीबाट टाढा हुनुहुँदैन। यसलाई आफ्नो धर्मका रुपमा लिनु आवश्यक छ।

काठमाडाैं महानगर बालेन शाह