Logo
१३ माघ २०७९, शुक्रबार

चलचित्र ‘सरी मम’ प्रदर्शनमा

Rohit Giri
२०७९ माघ ६ , शुक्रबार ०५:०१ मा प्रकाशित

काठमाडौं ६ माघ। चलचित्र ‘सरी मम’ उपत्यकाभित्र प्रदर्शनमा आएको छ ।

बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र हेरेपछि दर्शकहरुले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्। लागुऔषध दुर्व्यसनीबिरुद्धको कथामा आधारित चलचित्र पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र प्रदर्शन गरिएको हो।

केही समयपछि भने सातै प्रदेशमा प्रदर्शनी हुने निर्माण टिमले बताएको छ। चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दर्शकले चलचित्र विद्यार्थीलाई लक्षित गरेर निर्माण गरिएको र उत्कृष्ट रहेको बताए।

दर्शकले ब्याचलरसम्मका विद्यार्थीले हेर्नैपर्ने चलचित्र बनेको बताए। लागुऔषधको कुलतमा लागेकाहरुले त्यसबाट छुट्न कसरी अघि बढ्नसक्छ भन्नेकुरा देखाइएको बताए। लक्ष्यअनुसार चलचित्रले सार्थकता पाएको बताए। उनीहरुले देशभरका विद्यालय र कलेजहरुमा यो चलचित्र देखाउनुपर्ने बताए।

चलचित्र हेरिसकेपछि अभिनेत्री दीपाश्री निरौलाले नेपाली कथावस्तुमा एकदमै उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिइन्। उनले कथावस्तु राम्रो रहेको बताइन्।

त्यस्तै अभिनेता सलोन बस्नेतले अहिलेको समाजका लागि जरुरी विषय चलचित्रमा देखाइएको बताए। आजको पुस्ताका लागि यो विषय जरुरी भएको उनले बताए।

नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ।

चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन्। दीर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्।