Logo
१३ वैशाख २०८१, बिहीबार

संसदमा पाण्डेले भने : उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुन्छ

अक्षरपाटी
२०७९ माघ ७ , शनिबार ०३:०१ मा प्रकाशित

काठमाडौं ७ माघ। नेपली कांग्रेस सांसद बद्री पाण्डेले सभामुख र उपसभामुख सत्तापक्षबाटै निर्वाचित हुनु संविधानको मर्म विपरित हुने बताए।

सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुने उनको भनाइ थियो।

प्रतिनिधिसभामा मुक्ताकुमारी यादवलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्दै सांसद पाण्डेले संविधानको आशय अनुसार पनि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने धारणा राखे।

उनले संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्नुको मतलब फरक पक्षको भनिएको बताए।
सत्तापक्षले प्रस्ताव गरेको व्यक्ति सभामुख भएपछि उपसभामुख प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने उनको मान्यता छ। तर नेपाली कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको भूमिका गुमाएको बहस राजनीतिक वृतमा भइरहेको छ।

यस्तै प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुख बनाउँदा सो पदकै गरिमा बढ्ने बताएकी छन्।

रानाको प्रस्तावक रहेकी गौतमले रानामगर उपसभामुखको कुर्सीमा बस्नु भनेको उनको योग्यताको मात्र कदर नभएर उपसभामुख पदकै शोभा बढ्ने धारणा राखिन।

इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समाज रुपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको उनले बताइन्।

प्रतिनिधि सभा बैठका धारणा राख्दै उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए ।

माघ ५ गते सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेस आन्दोलनका सहिदको सम्मान नगरेको भन्न नमिल्ने पनि उनले बताए। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने उनले स्पस्छ पारे।

संसदमा बोल्ने क्रममा माघ ५ गते जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए।

उनले संसदको मर्यादा अनुसार रुलिङ सभामुखको चल्ने भएकाले आफूहरुले उठेर संसदीय मर्यादा भंग गर्न चनाहेको बताए। संसदीय मर्यादाको पालना गर्दा मधेश आन्दोलनका शहीदको अपमान गरेको भन्न नपाइने पनि उनले बताए।