Logo
१३ वैशाख २०८१, बिहीबार

धनगढीको ६ लेख सडक: हस्तान्तरण नहुँदै भासियो

अक्षरपाटी
२०७९ चैत्र ३ , शुक्रबार १०:०३ मा प्रकाशित

धनगढी ३ चैत। पूर्ण रुपले निर्माण सम्पन्न नहुँदै धनगढी–अत्तरिया जोड्ने छ लेन सडक भत्किन र भाँसिन सुरु भएको छ।

दोस्रो प्याकेज अन्तर्गतको गेंटा क्षेत्रमा छ लेन सडक भाँसिएको हो। केही ठाउँमा सडक चर्कनुका साथै भत्किएको छ। गेटास्थित धनगढी एयरपोर्ट गेट, आरपी फ्लोवर मिल क्षेत्रमा छ लेन सडक भत्किरहेको छ। पूर्वी लेनको धेरै ठाउँमा सडक भासिएको छ।

निर्माण भएको एक वर्षमै सडक भत्किनुका साथै भाँसिएपछि सडकको गुणस्तरमा गम्भीर प्रश्न उठेको छ। छ लेन सडक आयोजना कार्यालयका प्राविधिकको प्रत्येक्ष रोहबरमा कालोपत्रे भएको थियो तर छोटो अवधिमै भत्किनुले आयोजनाका प्राविधिक र ठेकेदार कम्पनीको मिलेमतो देखिएको स्थानीयको आरोप छ।

‘करोडौँ रुपैयाँ लगानी गरेर निर्माण गरिएको सडक एक वर्ष पनि नटिक्नुले गुणस्तरीय काम भएको छैन भन्ने पुष्टि हुन्छ।, धनगढीका स्थानीय जनक खड्काले भने, ‘यसमा ठेकेदारमात्र होइन, आयोजना कार्यालयका कर्मचारीको समेत मिलेमतो छ भन्ने बुझ्नुपर्छ।’

सडक निर्माण गर्दा रोलरले राम्ररी दबाउने कार्य नभएका कारण बनेको एक वर्षमै सडक भासिन सुरु भएको स्थानीयको बुझाइ छ।

‘निर्माण कम्पनीको लापरवाहीका कारण एक वर्षमै सडक बिग्रिने थालेको हो’, गोदावरी नगरपालिका–५ गेंटाका व्यवसायी सुदीप रानाले भने,‘यो बाटो राम्ररी दबाइएको थिएन।’ उनका अनुसार सडक बिग्रेपछि दुर्घटनासमेत हुन थालेको छ।

सडक भासिएका कारण पूर्वी लेनमा मोटरसाइकल चलाउन अप्ठ्यारो हुने गरेको छ।

‘मोटरसाइकल सिधा जाँदैन। हल्लिने गर्दछ । बिग्रेको सडकका कारण अस्ती हाम्रै छिमेकी दुर्घटना पर्नुभो । आठ÷दश लाख रुपियाँ उपचारमै खर्च भइसकेको छ’, उनले भने, ‘एक लेनको बाटो हुँदा पनि यस्तो थिएन।’

गत वर्ष निर्माण कार्य सम्पन्न भएको यो सडक अहिलेसम्म हस्तान्तरण भएको छैन । सडकको गुणस्तर परीक्षण हुनुपर्ने स्थानीयको माग छ । हस्तान्तरण नहुँदै सडक भत्किन र भासिन सुरु भएपछि बिग्रेको सडक ठेकेदारले बनाउनु पर्ने उनीहरुको भनाइ छ।

निर्माण गर्ने पक्षको कमीकजोरीका कारण सडक चाँडै बिग्रेको भन्दै गोदावरी नगरपालिका–५ गेटीका दानसिंह बोहराले निर्माण कम्पनीले फेरि बाटो बनाउनु पर्ने जिकिर गरे । ‘यो ठेकेदारको लापरवाही हो’, उनले भने,‘सडक निर्माण गर्ने कम्पनीले फेरि बनाउनु पर्दछ ।’

छ लेन सडकको निर्माण कार्य २०७४ बाट अगाडि बढेको थियो । १४.२ किलोमिटर यो सडकलाई तीन खण्डमा विभाजन गरेर बनाउने कार्य भएको हो।

दोस्रो खण्डको पूर्वी लेनमा सडक बिग्रिरहेको छ । यो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफेले ठेक्का पाए पनि निर्माणको कार्य राजेन्द्र निर्माण सेवाले गरेको हाल छ लेन सडकलाई हेरिरहेको महाकाली चार लेन पुल आयोजना कार्यालयले जानकारी दिएको छ । राजेन्द्र निर्माण सेवाले दुई वटा खण्डमा काम गरिरहेको छ । उसले काम गरेका दुवै खण्डमा सडक भाँसिन र भत्कन थालेको हो।

सो कार्यालयका प्रमुख रामबहादुर गुरुङले भत्केको र भासिरहेको छ लेन सडकलाई विज्ञको समूहले हेरिरहेको बताए। सडकमा अत्यधिक भार बोकेको गाडी कुदाउँदा त्यस्तो भएको उनले भने।

‘अरु लेनमा नभइ एउटै लेनमा सडक बिग्रिन थालेको देखिएको छ’, गुरुङले भने। बाहिरबाट सामान बोकेर आउने गाडीहरु पूर्वी लेनबाट धनगढी प्रवेश गर्ने गरेका छन्। त्यसैले त्यहि लेनमा बाटो बिग्रेकोको आयोजनाको ठहर छ। तर माटो टेस्टकै क्रममा उक्त समस्या किन पहिचान नभएको भन्ने प्रश्न समेत उब्जिएको छ।

कुनै पनि आयोजना सम्पन्न भइसकेपछि एक वर्षसम्म मर्मत सम्भारको अवधि रहने गर्दछ। बिग्रे, भत्केको सबै निर्माण कम्पनीले नै बनाउनु पर्दछ।

छ लेन सडकको मर्मत सम्भार अवधि पनि आउँदो असोजसम्म रहेकाले बिग्रेको सडकलाई राजेन्द्र निर्माण सेवाले बनाउने गुरुङ्ले बताए। चैतबाट मर्मतको काम थाल्ने निर्माण कम्पनीले बताएको उनले उल्लेख गरे।

मर्मत कार्य पूरा भएपछि आउँदो असोजमा निर्माण कम्पनीले सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई मोहना पुल–अत्तरिया छ लेन सडक हस्तान्तरण गर्ने जनाइएको छ।

करिब एक अर्ब ६५ करोड रुपैयाँ लागतमा यो सडक बनाइएको हो । यस अन्तर्गत पर्ने खोलामा पुल र बाटो काट्नका लागि ओभरहेड पुल बनाउन अझै बाँकी रहेको छ।

पहिलो प्याकेज अन्तर्गत तीन वटा र अर्को प्याकेजमा थप तीन वटा गरेर छ वटा ओभरहेड पुल बन्ने प्रमुख गुरुङले बताए।

 

६ लेन सडक धनगढी