Logo
१६ चैत्र २०८०, शुक्रबार

बजेटमा क्षतिपूर्तिसहितको विशेषाधिकार माग्दै सुदूरपश्चिम सरकारको सिंगो टोली काठमाडौंमा

अक्षरपाटी
२०८० जेठ ९ , मंगलबार ०६:०५ मा प्रकाशित

काठमाडौं। सदियौँदेखि केन्द्रबाट उपेक्षित र भूगोलका हिसाबले सुदूर रहेको सुदूरपश्चिमलाई क्षतिपूर्तिसहितको विशेषधिकार दिनुपर्ने माग गर्दै सुदूरपश्चिमका सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र सुदूरपश्चिम सरकारको सिंगो टोली काठमाडौं पुगेको छ।

सुदूरपश्चिमको कुनै पनि अनुदान रकम कटौती नगर्न र आर्थिक स्रोतमाथि सुदूरपश्चिमलाई क्षतिपूर्ति दिनुपर्ने माग उनीहरुले राखेका छन्।

संघीय सरकारले चालु आर्थिक वर्षको समानीकरण अनुदानको अन्तिम किस्ता कटौती गर्ने पत्र पठाएपछि आगामी वर्षको बजेट पनि कटौती हुने सूचनाले प्रदेश सरकार दबाब दिन संघीय राजधानी काठमाडौं पुगेको हो।

सुदूरपश्चिमलाई योगदानका आधारमा होइन विकास सूचकका आधारमा विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सुदूरपश्चिम प्रदेश सरकार, सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको टोलीले अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेको हो।

उक्त टोलीले दलका शीर्ष नेतालाई पनि भेटेर दबाब दिने कार्यक्रम छ । आज अर्थमन्त्री महतलाई भेटेर सुदूरपश्चिमको कुनै पनि अनुदान कटौती नगर्न र आर्थिक स्रोतमाथि विशेषाधिकार प्रदान गर्न अनुरोध गरिएको आर्थिक सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री नरेशकुमार शाहीले बताए।

अनुदान कटौतीले प्रदेश सरकारको बजेट र खर्चबीच असन्तुलत सिर्जना भएको उनले बताए।

संघीय सरकारले प्रदेश सरकारको बजेटमा पाँच अर्ब ६० करोड कटौती हुने सम्भावना बढेको प्रदेश सरकारको भनाइ छ। प्रदेश सरकारले संघीय सरकारको असमान आर्थिक नीतिका कारण सुदूरपश्चिममा आर्थिक स्रोत कमजोर भएको प्रदेश सरकारको बुझाइ छ।

वैशाख मसान्तसम्म प्रदेश सरकारलाई संघीय सरकारबाट प्राप्त हुनुपर्ने १९ अर्ब १८ करोड ८१ लाख ६५ हजार रहे पनि सात अर्ब ७० करोड ५१ लाख ५५ हजार प्राप्त भएको छ।