Logo
२० वैशाख २०८१, बिहीबार

सरकार महंगोमा राहदानी खरिद गरेर वितरण गरिरहेको छः परराष्ट्रमन्त्री साउद

अक्षरपाटी
२०८० असार ६ , बुधबार ०५:०६ मा प्रकाशित

काठमाडौं ६ असार। परराष्ट्रमन्त्री एनपी साउदले सरकारले महंगोमा राहदानी खरिद गरेर वितरण गरिरहेको बताए।

उनले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकार महंगो मूल्य तिरेर खरिद गरिरहेको बताए।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा राहदानी व्यवस्थापनको विषयमा जानकारी गराउँदै मन्त्री साउदले मन्त्रालय महंगो पैसा तिरेर राहदानी उपलब्ध गराउनुपर्ने चापमा रहेको बताए।

उनले सरकारले सार्वजनिक खरिद कानून अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य (भेरियसन)तिरेर खरिद गरी राहदानी वितरण गरिरहेको जानकारी दिए।

साउदले विद्युतीय राहदानी खरिदका लागि प्रथम पटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रस्ताव गरिए पनि मन्त्रिपरिषदको निर्णयअनुसार २० लाख मात्रै विद्युतीय राहदानी खरिद भएको बताए।

नेपालमा राहदानी पुस्तिका छपाई गर्नसक्ने सुरक्षण मुद्रण नभएको र राहदानी सेवा अवरुद्ध गर्न पनि नमिल्ने भएकाले अन्तरिम अवधिका लागि महँगोमा थप राहदानी खरिद गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताए।

राहदानीको माग अत्याधिक भएकाले महँगोमा भएपनि राहदानी खरिद गरी वितरण गरिरहेको उनको भनाइ थियो।

६६ पृष्टको राहदानीसमेत ५ लाख मौज्दात रहेकाले त्यसले करिब ४ महिना मात्रै धान्नसक्ने अवस्था रहेको उनले बताए। ४ महिनापछि राहदानी जारी गर्न तत्काल महंगो भएपनि खरिद गर्नुको विकल्प मन्त्रालयसँग नभएको उनले सुनाए।

केही दिनअघि मात्रै मन्त्री साउदले १० हजार लिँदै आएको राहदानी शुल्क असार ३ गतेदेखि लागु हुनेगरी ५ हजार गरेका थिए।

समिति बैठकमा राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले राहदानीको माग अत्याधिक रहेकाले राहदानी विभागमा भिडभाड भएको बताए।

उनले विद्युतीय राहदानी हाईटेक प्रविधि भएकाले जिल्लाहरुबाट वितरण गर्दा समस्या भएको सुनाए। उनले राहदानी विभागको भीड कम गर्न जिल्ला प्रशासन कार्यालयहरुबाट राहदानी वितरण प्रक्रिया थालनी गरेकापछि सहज भएको बताए।

एनपी साउद परराष्ट्रमन्त्री