
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए मध्यावधि निर्वाचन गर्नुपर्ने अवस्था आउने बताएका छन।
बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार बन्न नसक्ने समेत दाबी गरे।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बदनाम गर्ने प्रयास भइरहेकोले त्यसतर्फ विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे।
उनले हालसम्म आफ्नो सरकार सफल भएको दाबी गरे। मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताउँदै।
नामका विषयमा मन्त्री र प्रधानमन्त्रीले बोल्दा प्रदेशको आन्दोलनमा घिउ थप्ने काम भएको मुख्यमन्त्री कार्कीको आरोप छ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदैछन।
९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीको दल नेकपा एमालेसँग ४०, सत्ता सहयात्री दल राप्रपाको ६ सिट छ। विश्वासको मतको लागि जसपाको १ मत निर्णायक छ।



