Logo
२४ वैशाख २०८१, सोमबार

धरानका मेयर साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्डको सम्मान

अक्षरपाटी
२०८० असार १७ , आईतबार १०:०७ मा प्रकाशित

धरान। धरान उप महानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ्ग)ले आफ्नो प्रयासमा श्रमसंस्कृतिको प्रवर्द्धन गरी देश विदेशमा प्रसंसा भइरहेका बेला उनलाई वर्ल्ड बुक अफ रेकर्ड्स (लण्डन) ले कदर गरेको छ।

मेयर साम्पाङ्गले श्रमसंस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करीब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ (लण्डन) ले मान्यतासहित सम्मान गरेको छ।

शुक्रबार धरान उप महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स’का नेपाल प्रमुख सागर कटुवाल, नेपाल मानव धर्म सेवा समितिका प्रमुख महात्मा चमेली बाईजी, गायक निर्णय श्रेष्ठ, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले संयुक्त रुपमा उक्त कदर पत्र हस्तान्तरण गरेका थिए।

‘वर्ल्ड बुक अफ रेकर्ड्स’ (लण्डन)को कदरपत्र पाएपछि मेयर साम्पाङ्गले आफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको बताए।

यसरी मुल्यांकन हुँदा अझै काम गर्ने जोश थपिने बताउँदै उनले आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने बताए। त्यसका लागि १ करोड बिरुवा रोप्ने समेत उनले सुनाए।

‘वर्ल्ड बुक अफ रेकर्ड्स’ (लण्डन) का नेपाल प्रमुख सागर कटुवालले मेयर साम्पाङ्गको कार्यहरु नियालिरहेको र उनको प्रेरणादायी श्रमसंस्कृतिले धेरै नै प्रभाव पारेको बताए।