Logo
११ जेठ २०८३, सोमबार

कतारमा आठ भारतीयलाई मृत्युदण्डको फैसला

अक्षरपाटी
२०८० कात्तिक १० , शुक्रबार १०:१० मा प्रकाशित

काठमाडौं १० कात्तिक । कतारको अदालतले जासुसी गरेको आरोपमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको फैसला सुनाएको छ । उनीहरू सबै भारतका पूर्वनौसैनिक अधिकारी हुन् ।

कतारको अल दहरा कम्पनीमा कार्यरत उनीहरू दोहामा पक्राउ परेका थिए । लगत्तै उनीहरूविरुद्ध कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्समा मुद्दा दायर भएको थियो ।

मृत्युदण्डको सजाय सुनाइएका आठ भारतीय सन् २०२२ को अक्टोबरदेखि उक्त कम्पनीमा कार्यरत थिए । उनीहरूमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

भारतले आफ्ना नागरिकमाथि मृत्युदण्डको फैसला आएको पुष्टि गर्दै यसले भारतीय सरकार स्तब्ध भएको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतारी अदालतको फैसलाबाट स्तब्ध भएको जनाएको हो ।

‘कतारको कोर्ट अफ फर्स्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा मृत्युदण्डको फैसला सुनाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौँ र विस्तृत फैसलाको प्रतीक्षामा छौँ । सबैका परिवारलाई कूटनीतिक तथा कानुनी सहायता प्रदान गरिनेछ ।’ एजेन्सी