काठमाडौं,१३ चैत । आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपाल ७१ रनले विजयी भएको छ। मंगलबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा अलआउट भएको हो।
नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट, करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट लिएका हुन्।
आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाएका थिए। अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन, कुशल मल्लले ३४ रन, कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २५ रन, अनिल शाहले १२ रन, आशिफ शेखले ११ रन, सन्दीप जोराले २१ र विवेक यादव ७ रनको योगदान गरे। जोरा अन्तिम बलमा क्याच आउट भएका थिए।