झापा,१८ चैत । पुरातत्व विभागको उत्खननबाट झापाको भद्रपुर नगरपालिका-३ पृथ्वीनगरस्थित कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँच वटा भवनका संरचना भेटिएको छ।
पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन, सोही भवनको केही दक्षिणपश्चिममा अर्को बहुतले भवन फेला परेको जानकारी दिए। पुरातत्वविद् आचार्यले चार वटै भवनको दक्षिणमा करीब दुई सय फिटको दूरीमा अर्को दुईतले सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेका बताए।
आचार्यका अनुसार यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुनेछ। “सायद अर्को सालसम्ममा उत्खनन पूरा हुन्छ। अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने सङ्केत पाइएको छ,” पुरातत्वविद् आचार्यले भने।
उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिए।
पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो। यस पटकको उत्खनन सातौं हो।