



o अक्षरपाटी विशेष
धनगढी । विपत्तिले मानिसको न जात हेर्छ, न धर्म। न भाषा हेर्छ, न भूगोल। न पासपोर्ट हेर्छ, न सीमा। विपत्तिमा मन भएको मानिसले पनि यो सबै बिर्षेर एउटा कुरा राेज्छ – मानवता।
विपद्मा एउटा मान्छेको सानो प्रयासले पनि ठूलो अर्थ राख्छ। अझ विपत्तिको समयमा कसैले ‘म तिम्रो साथमा छु’ भन्दै हात थामिदियो भने त त्यसले पीडिमा शितलता प्रदान गरिदिन्छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले धेरै नेपालीको घर, सम्पत्ति, सपना मात्र होइन जीवन नै बगाइदिएको छ । यसन्ताे बेला भारतबाट एउटा कलाकार नेपाल आइपुगेका छन्- बलिउड अभिनेता सोनु सुद।
कोरोना महामारीका बेला भारतमा अप्ठेराेमा परेका हजारौँ मानिसलाई सहयोग गरे । कसैलाई घर फर्किन सहयोग गरे। मजदुरका लागि बस, रेलदेखि हवाई यात्रासम्मको व्यवस्था गरे। त्यस सत्कर्मले सोनुलाई भारतमा ‘अभिनेता’भन्दा धेरै मानवीय सहाराका रूपमा स्थापित गरिदियो।
त्यसयता मानवीय सेवामा चर्चित सोनु यसपटक भोटेकोशीको महाविपदत्तिले नेपालीलाई दिएको पीडाले मन थाम्न नसकेर नेपाल आएका हुन्। उनले ‘नेपालसँग उभिन’ आफू यहाँ आएको कारण पनि स्पष्ट पारे । उनले भने, ‘बाढी प्रभावित नेपालीको दुःखमा साथ दिन म यहाँ आएको हुँ।’
सुदले आउने वित्तिकै मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल आउनुको उद्देश्य प्रस्ट्याए। उनको नेपाल यात्रा पत्रकार सम्मेलनमा मात्र सीमित भएन। उले पीडित परिवारलाई भेटे। दु:मा परेका बालबािलकासँग भेटे । उनीहरुको हात समाते। काखमा लिए र मायाले चुम्बन गरे । बुधबार उनी बाढी प्रभावित क्षेत्र पुगे।
त्यो दृश्य कुनै चलचित्रको अभिनयका लागि थिएन। कुनै स्क्रिप्टमा आधारित थिएन। त्यो एउटा मान्छेले अर्को दुःखी मान्छेलाई दिएको आत्मीयता थियो। साथ थियो । हाैसला थियो।
नेपाल आउन उनलाई सरकारी निम्तो थिएन। कुनै निर्धारित तालिका होइन। भोटेकोशी बाढीले घरबार, व्यवसाय, सपना र आफन्त बगाएका नेपालीहरूको पीडा देखेर उनी चुप बस्न सकेनन् र नेपाल आइपुगे।
नेपाल र भारतबीच राजनीतिक, सामाजिक र सांस्कृतिक सम्बन्धको खुबै चर्चा हुन्छ। तर कहिलेकाहीँ एउटा व्यक्तिको व्यवहारले ती सबै सम्बन्धलाई भावनात्मक रुपमा जोडिदिन्छ- जसरी जोड्ने प्रयत्न गरेका छन् अभिनेता सोनु सुदले।
उसो त भारत सरकारले पनि नेपालको दु:खमा साथ नदिएको होइन। बाढीको वितण्डापछिको २४ घन्टा नहुँदै भारतले मानवीय सयोग तारन्तार पठाएर नजिकको छिमेकी हुनुको फर्ज राम्ररी निभायो। अहिले पनि सहयोग निरन्तर जारी छ।
बाढीले धेरै थोक खोसेका नेपालीहरुका लागि सोनु सुदको उपस्थितिले केही क्षणका लागि भए पनि पीडित बालबालिकाको अनुहारमा मुस्कान ल्याएको छ। सायद त्यो नै किनेर नपाइने ठूलो सहयोग हो।
०००
भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपाली भूमिमा पीडा, आँसु र निराशा छाइरहेका बेला छिमेकी देश भारतबाट उच्च मानवीयता प्रदर्शन गर्दै सुद नेपाल आइपुग्नु हाैसला र अपनत्वको सन्देश हो।
चलचित्रमा खुँखार गुण्डाको भूमिकामा देखिने सोनु सुदको वास्तविक जीवन भने त्यसको ठीक विपरीत छ भन्ने कुरा पनि उनको यो मानवीय कदमले थप प्रमाणित गरेको छ। पर्दामा देखिने उनको चरित्रले दर्शकलाई डराउन सक्छ, तर पर्दा बाहिर उनी हजारौँ पीडितका लागि भरोसा, हौसला र आशाका रुपमा देखिने गरेका छन्।
अनि सीमा पार गरे
नेपालमा बाढीले मचाएको तवाहीको समाचार सोनुले देखे। मानिसहरूको पीडा देखे। घरबारविहीन भएका परिवारका कथा हेरे। अनि उनले सोचेनन्- ‘यो मेरो देश होइन।’ बरु सोचे- ‘पीडामा परेका मानिसहरु छिमेकका आफ्नै दाजुभाइ हुन्, दिदीबहिनी हुन्, आमाबुवा हुन्।
त्यही सोचले उनलाई नेपालसम्म आउन वाध्य बनायो।
क्यामेराको अगाडि उभिएर ‘म सहयोग गर्छु’ भन्नु एउटा कुरा हो। तर पीडितको आँशुले रुझेको आँखामा आँखा मिलाएर उसको पीडा महसुस गर्नु अर्को विषय हो। सोनुले क्यामेरामा भनेनन्, आँखामा आँखा मिलाउन आए।
विपत्तिमा परेका मानिसलाई पैसा, खाद्यान्न र कपडा आवश्यक हुन्छ। तर त्योभन्दा महत्त्वपूर्ण हुन्छ- भाैतिक उपस्थिति र हाैसला । सोनु नेपालीको पीडामा त्यही हाैसला बन्न नेपाल पुगेको बताउँछन्।
प्राकृतिक विपदमा जब कसैको घर बग्छ, घरसँग उसको घरको भित्ता र छानो मात्र बग्दैन। वर्षौँको मेहनत बग्छ। सम्झना मेटिन्छन्। सुरक्षित भविष्य अनिश्चित बनेको हुन्छ। बालबालिकाले त झन आफ्ना अभिभावक गुमाउँदा शिरमाथिको भरोसा र सुरक्षाको ओत नै गुमाएका हुन्छन्। यस्तोमा कसैले ‘तिमी एक्लो छैनौ’ भनेर भनिदिनु पनि अतुलनीय आड भरोसा बनिदिन्छ। त्यही भरोसाको सन्देश दिन आएका हुन्- सोनु सुद।
‘एक घर बनाउने संकल्प’
उनले भरोसा मात्र होइन् ओतको आधार बन्ने योजना समेत लिएर आएको प्रस्ट्याए। भोटेकोशी बाढीबाट घरबारविहीन भएका परिवारका लागि उनले ‘एक घर बनाउने संकल्प’ अभियानको प्रस्ताव अघि सारे।
उनले गरेको यो प्रस्ताव एउटा घर निर्माणको योजना मात्र होइन। यसभित्र विपत्तिले भत्काएको जीवनलाई फेरि उठाउने सतप्रयास पनि हो। घर केबल आश्रयस्थल मात्र होइन। घर सुरक्षा हो।
घर परिवारको आत्मविश्वास हो। घर भनेको ‘हामी अझै यहाँ छौँ’ भन्ने अनुभूति हो। उनले त्यही अनुभूति दिने अभियानको घोषणा गरे।
उसो त उनको फाउन्डेसनले प्रभावित नेपालीका लागि २ हजार कम्बल, लत्ताकपडा, सुक्खा खाद्यान्न तथा महिला स्वास्थ्य सामग्री नेपाल पठाइसकेको छ। सहयोगको मूल्य सँधै पैसामा होइन भावना अझ बढी ओजनदार भइदिन्छ। सोनुले गर्न त्यही खोजे।
आजको जमाना अलि अनाैठो छ। हामीहरु सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेर समाजसेवी कहलिन खोज्छाैँ। भिडियो बनाएर दुःखप्रति चिन्ता व्यक्त गर्न उद्धत हुन्छाैँ। केही शब्द लेखेर आफूलाई संवेदनशील प्रमाणित गर्न सक्छौँ।
बोल्नेहरूको कमी छैन। उपदेश दिनेहरू उपियाँसरी छाैँ। आफूलाई महान् देखाउनेहरू पनि धेरै छाैँ। तर साँच्चै परिआउँदा महान काम गर्नेहरु भने धेरै थाेरै छन्। तीँ थोरैमध्यका एक हुन् सोनु सुद।
चलचित्र करियरमा सोनु सुद खुँखार खलनायकका रूपमा चित्रित छन्। बलिष्ठ शरीर। डरलाग्दो अनुहार। रवाफिलो संवाद। क्रुर चरित्र।
तर सिनेमा बाहिरको उनको वास्तविक जीवन भने बिल्कुल फरक छ। कोरोना महामारीका बेला सडकमा अलपत्र मजदुरदेखि उपचारका लागि सहयोग खोजिरहेका नागरिकसम्मलाई, सोनु सुदको नाम सहयोगको पर्याय बनेको थियो।
अहिले नेपालको भोटेकोशी बाढीले पनि उनलाई त्यही भूमिकामा उभ्याएको छ। यतिबेला उनका अगाडि लिखित स्क्रिप्ट छैन। कोही निर्देशक छैन। क्यामेरा छैन। बनावटी संवाद छैन। छ त केवल मानवीयताले ओतप्रोत हृदय छ। नेपालीको पीडामा भाैतिक हुन्छ कि भावनात्मक मल्हम लगाउने उद्देश्य छ। त्यसैले त उनी देशको सीमा पार गर्न पासपोर्ट होइन, मानवताले भरिएको मन देखाउँदै नेपालसम्म आइपुगे।
उनले भाषा नबुझे पनि आँशुको भाका बुझेका छन्। कथा नसुने पनि पीडितको पीडा महसुस गरेका छन्। यो विपत्तिका बीच सोनु सुदको आगमनले एउटा सन्देश अवश्य दिएको छ- ‘दुःखको सीमा हुँदैन, त्यसैले सहयोगको पनि सीमा हुनु हुँदैन।’
उनले हामी नेपालीको पीडितमा देखाएको चासो र चिन्ताले सम्बन्धको नयाँ ढोका उघारिदिएको छः त्यो के भने- राजनीतिक सम्बन्ध सरकारले बनाउने हो। आर्थिक सम्बन्ध व्यापारीले बनाउने हो तर नेपाल-भारतबीचको मानवीय सम्बन्ध मानिसले बनाउने हो।
ooo


