काठमाडौं,२४ जेठ। नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले न्यूरोडमा सडकपेटी बढाउने प्रयासको समर्थन गरेका छन् ।
केही दिनअघि काठमाडौं महानगरपालिकाले सडकपेटी बढाउने प्रयास गरेको थियो । त्यसका लागि काटिएको सडकमा सडक विभागले पिच गरिदिएको थियो ।
यस विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र एमालेपंक्तिबीच असझदारी उत्पन्न भइरहेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा शर्माले बालेनको समर्थन गरेका हुन् ।
‘संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए, उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । संघले यसमा कुनै पनि हस्तक्षेप गर्ने कुराबाट फिर्ता हुनुपर्छ’, उनले भने ।
महामन्त्री शर्माले केपी ओलीलाई लक्षित गर्दै प्रधानमन्त्रीको उचाइमा पुगेका नेताहरूले एक अलग सम्मानको उचाइमा रहनुपर्ने सुझाव दिए ।
‘हामी जोसँग पनि, जहाँ पनि जोरी खोज्नका लागि मैदानमा उत्रिनुहुँदैन । कसैलाई निष्ठुरी साइँला भनेको छ, कसैलाई बैगुनी कान्छा भनेको छ । यो ढंगको अभिव्यक्ति सम्माननीय पूर्वप्रधानमन्त्रीहरूलाई सुहाउँदैन’, शर्माले भने ।
शर्माले काठमाडौंका मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भने हुन्छ भन्ने सुझाव ओलीलाई दिए ।