काठमाडौं । नरेन साउदको ५ विकेटको सहयोगमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुँदै ९४ रन मात्र जोड्न सक्यो ।
काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । सुमित महर्जनले १० बलमा १४ रन जोड्दै अभिनास बोहोराको बलमा नरेन साउदबाट क्याच आउट भए ।
भीम सार्की ८ बलमा १० रन बनाउँदै रन आउट भए । जेहार्ड एरास्मसले ५ बलमा १० रन जोडे । एरास्मस नरेन साउदले एलबिडब्लु धरापमा पारे ।
नरेनले १४औं ओभरमा स्किनाजी र राशीद खानलाई आउट गराएसँगै सुदूरपश्चिम खेलमा पुर्णरुपले हाबी भएको थियो । कप्तान करण केसी ठूलो सट खेल्ने चक्करमा नरेनको बलमा आउट भए ।
सुदूरपश्चिमका लागि नरेनले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो ।
सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।
मक्मेलन आउट भए लगत्तैको बलमा भन्डारी पनि २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रनाउँदै आउट भए ।
विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए । दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । दिपेन्द्र लामो सट प्रहारको चक्करमा करण केसीको बलमा बाउन्ड्रिमा माइकल लेभिटबाट क्याच आउट भए ।
ओपनरको भुमीकामा आएका सेफ जैबले ९ बलमा ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए ।
रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।
सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंको ३ खेलबाट २ अंक भएको छ ।
आजै भएको पहिलो खेलमा पोखरा एभेनजर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको थियो ।
एनपिएलमा शुक्रवारको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज तथा दोस्रो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।