Logo
२९ चैत्र २०८१, शनिबार

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

अक्षरपाटी
२०८१ चैत्र २८ , शुक्रबार ०४:०४ मा प्रकाशित

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बिहीबार भारतमा पक्राउ परेर शुक्रबार नेपाल ल्याई दिउँसो काठमाडौँ जिल्ला अदालतमा समय थपका लागि प्रहरीले लगेकामा अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायाधीश शिशिर ढकालको एकल इजलासले प्रसाईं र उनका अङ्गरक्षक दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको समय दिएको हो ।

उनलाई कारबाही गर्न यतिबेला प्रहरीले विभिन्न मुद्दा लगाउनेबारे तयारी गरिरहेको छ । गत चैत १५ गते राजावादीहरुको आन्दोलनमा हिंसा मच्याउन उक्साउने उक्त आन्दोलनका नाइके प्रसाईं तीनकुनेमै निषेधित क्षेत्रमा गाडी हुँइकाउँदै कार्यकर्तालाई उक्साएर आफू भागेका थिए ।

उनलाई प्रहरीले १५ गतेदेखि नै खोजी जारी राखेको भए पनि सफल हुन सकेको थिएन । कहिले ललितपुर त कहिले हेटौँडातिर रहेको शंकाबीच प्रहरीले उनलाई खोजी जारी राख्यो ।

अन्ततः उनकी भारतको असाममा पक्राउ परे । भारतीय प्रहरीले सामको गुवाहाटीबाट नियन्त्रणमा लिएर नेपालको सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाउने तयारी गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनी भारतमा रहेको शंकाबीच विगत एक सातादेखि भारतको असामस्थित गुवाटीमा तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो ।

‘दुर्गा प्रसाईंको खोजीमा गएका नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरेका थिए । भारतीय प्रहरीकै सहयोगमा उनलाई नियन्त्रणमा लिन सफल भएसँगै काठमाडौँ ल्याएर काठमाडौँ जिल्ला अदालतमा पेश गरी समय थपेर अनुसन्धान थालिने छ ।

तत्काल उनलाई ज्यान मार्ने अपराधमा मुद्दा चलाउने तयारी रहेको भए पनि विभिन्न मुद्दा उनीमाथि आकर्षित हुन सक्ने देखिएको छ ।

उनीमाथि ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्ति तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण तथा संगठित अपराधमा अनुसन्धान हुने बताइएको छ ।

उक्त तीनकुनेको हिंसात्मक घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यान गएको थियो भने एक सय २९ जना घाइते भएका थिए ।

दुर्गा प्रसाईं