Logo
३१ साउन २०८३, आईतबार

रिपाेर्टर्स क्लबमा धकेलाधकेल, बाहिरबाट छिरेकाहरुले प्रश्न साेधेपछि तनाव

अक्षरपाटी
२०८२ भदौ २९ , आईतबार ०५:०९ मा प्रकाशित

काठमाडाैं। जेन-जी अभियन्तालाई लिएर रिपाेर्टर्स क्लबले गरेकाे पत्रकार सम्मेलनमा हंगामा भएकाे छ।

पत्रकारकाे ड्यासमा छिरेका अन्य व्यक्तिले ‘ठूलाे परिवर्तन भयाे भन्नुभयाे, ५१ जना मान्छे मारेर ल्याएकाे परिवर्तन के ६ महिने अन्तरिम सरकारका लागि हाे ?’ लगायतका प्रश्नले माहाेल उत्तेजित बनेको हाे।

प्रतिउत्तरमा दिएको गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु अनियन्त्रित बनेपछि हात हालाहालको स्थिति देखियाे।

मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षत्कार गरिरहेकाबेला बाहिरबाट प्रेसमिटमा छिरेका व्यक्तिले- ‘प्रत्यक्ष कार्यकारीको मुद्दा तपाईंहरुले कहाँनेर कार्यन्वयन गर्न सक्नुभएको छ? सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईहरुलाई थाहा छ?’ जस्ता प्रश्न गरेपछि माहोल बिग्रिएको थियाे।

जवाफमा सुधनले, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नुस न त।’ भनेका थिए।

प्रश्नकर्ताले ‘अब केही पनि हुँदैन, छ महिनापछि तिनै नेता आउँछन्।’ भनेपछि सुधनले ‘हामी फेरि आन्दोलन गर्छौँ। नेताहरुलाई घरबाट निस्कनै दिन्नौं।’ भनेका थिए।

त्यसपछि हाेहल्ला भएपछि सुधन चिच्याउँदै भन्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन ?’ खैलाबैला हुनथालेपछि सुधन पत्रकार सम्मेलनै छाेडेर हिँडेका छन्।

रिपाेर्टर्स क्लब सुधन गुरुङ