Logo
२४ असार २०८३, बुधबार

देउवालाई सुनिल शर्माले भने- रोइलो छाडेर महाधिवेशन हल उद्घाटनमा आउनुहोस्

अक्षरपाटी
२०८२ पुस २७ , आईतबार ०४:०१ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाएका छन्। आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाए।

टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले पूर्वदेखि पश्चिम र दार्चुलादेखि ताप्लेजुङसम्मबाट आएका कार्यकर्ता तथा नेताहरूको अनुहारले गिज्याइरहेको छ कि छैन भन्ने प्रश्न गरे।

शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे।

उनले भने, ‘टेलिभिजन या फेसबुकमा लाईभ हेर्दै हुनुहुन्छ होला, हामी सभापति शेरबहादुर देउवादेखि केन्द्रीय समितिमा ज–जसले साथीहरुको मासुम अनुहारहरुको अवमूल्यन गर्नुभयो। उहाँहरुलाई हामी यहाँबाट प्रश्न सोध्न चाहन्छौं पूर्वदेखि पश्चिमसम्म र दार्चुलादेखि ताप्लेजुङसम्म आएका क्रियाशीलदेखि देखी केन्द्रीय नेताहरु र महामन्त्रीद्धयहरुको यो मासुम अनुहारले तपाईंहरुलाई गिज्याईरहेको छ की छैन ? हामी बुद्धका सन्तान हौं। हामी मारकाटमा विश्वास गर्दैनौं, हामी झगडामा विश्वास गर्दैनौं। हाम्रो क्यारेक्टर, हाम्रो सिद्धान्त, नीति, विचार मध्यमार्गी बाटो हो।’

सभापति देउवाप्रति लक्षित गर्दै शर्माले उनको ऐतिहासिक योगदानको सम्मान गरे पनि अब जिम्मेवारीपूर्वक निर्णय लिन आग्रह गरे। देउवालाई ‘पिता समान नेता’ भन्दै उनले उमेर र समयको सन्दर्भ उल्लेख गर्दै कार्यकर्ताको भावनालाई ख्याल गर्नुपर्ने बताए।

उनले सभापति देउवालाई महाधिवेशन हल उद्घाटन उपस्थित हुन आग्रह गर्दै नेतृत्व चयनका लागि विभिन्न विकल्प खुला रहेको बताए। ‘तपाईंलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ता हिजो जसले तपाईंलाई भोट हाल्यो, हिजो जसले तपाईंलाई सभापति बनायो र पटक पटक जसले सत्तामा पुर्यो अब त्यो रोइलो छोडेर भोलि बिहान हल उद्घाटन गर्न आउनुुस्। पहिलो विकल्प तपाईं आफैं चुनावमा उठ्नुहोस्, जसले हारेपनि लोकतन्त्र र प्रजातन्त्रले जित्छ,’ शर्माले भने।

चुनावमा हार्ने नेताहरूलाई समेत फूलमाला लगाएर सम्मानपूर्वक घरसम्म पु¥याउने पार्टी संस्कार रहेको उनको भनाइ थियो।