

काठमाडौं । करिब १८ महिनासम्म उडान ठप्प भएको सौर्य एयरलाइन्सले फागुन दोस्रो साताबाट पुन: उडान सुरु गर्ने भएको छ।
कम्पनीका बिक्री तथा बजार प्रमुख मुकेश खनालका अनुसार दुर्घटनापछि अस्थायी रूपमा रोकिएको उडान अनुमति प्रमाणपत्र (AOC) कानुनी प्रक्रिया र सुरक्षा मापदण्ड पूरा भइसकेकाले उडान अनुमति फुकुवासँगै उडान सुरु हुनलागेकाे हो।
२०८१ साउन ९ गते पोखरा बिमानस्थलमा ‘सी’ चेकका लागि १७ जना प्राविधिक र २ चालकदलसहित १९ जना बोकेर उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो। साे घटनामा १८ जनाको ज्यान गएको थियो।
सरकारले सोही दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जहाज जाँचबुझ आयोग बनाएको थियो।
सो आयोगको प्रतिवेदनअनुसार प्राप्त भएकामध्ये सौर्य एयरलाइन्सप्रति लक्षित ११ र सबै अप्रेटरप्रति लक्षित १२ वटासमेत गरेर २३ सुझाव अनुसार सौर्य एयरलाइन्सले सुधार गरिसकेका कारण पुन: उडान सुरु गर्न लागेको कम्पनीका बिक्री तथा बजार प्रमुख खनालले अक्षरपाटीलाई बताए।
नियामक निकायले सुरक्षा अडिटमा सौर्य एयरलाइन्सलाई ६५ प्रतिशत भन्दा बढी अंक दिएकाे छ।
खनालका अनुसार, हवाई दुर्घटना जाँचबुझ आयोग र प्राधिकरणले दिएको २३ वटा सुरक्षा सिफारिस अक्षरशः पालना गरेको, आवश्यक टेक्निकल सफ्टवेयरको जडान र प्राविधिक सुधारपछि एओसी नवीकरण गरिएको हो।
केही माध्यमले एउटा मात्रै जहाज भने पनि सौर्य एयरलाइन्ससँग हाल २ वटा जहाज भएको जनाएको छ। दुर्घटनामा परेको कलसाइन नाइनएन–एएमई बाहेक, नाइनएन–एएनएम जहाजबाट उडान सुरु हुनेछ। कम्पनीले प्रारम्भमा काठमाडौं–विराटनगर र भद्रपुर रुटमा उडान भर्ने तयारी गरेको छ। याे उडान फागुन पहिलो साता भनिए पनि एक साता पर धकेलिएको हो।
कम्पनीका अनुसार, दुर्घटनामा परेकाहरूको बीमा र आर्थिक सहायता व्यवस्थित गरिएको छ। पाइलट, कोपाइलट र परिचालकका परिवारले अमेरिकी डलर २० हजारसम्मको बीमा भुक्तानी पाइसकेकाे दाबी गरेको छ।
त्यसैगरी कर्मचारीका परिवारका लागि निवृत्तिभरण, सामूहिक दुर्घटना बीमा र अन्य सुविधा अन्तर्गत ८ लाखदेखि २० लाख रुपैयाँसम्म थप भुक्तानी उपलब्ध गराइएको छ।
सौर्य एयरलाइन्स



