



काठमाडौं। सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत गरेको बजेटको प्रभावले सुन तथा चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएपछि आइतबार एकैदिन सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य समायोजनपछि छापावाल सुनको कारोबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार बजेटमा घोषणा गरिएको नयाँ भन्सार दर तत्काल लागू भएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको हो। उहाँले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सामान्य रूपमा बढे पनि भन्सार शुल्क दोब्बर बनाइएकै कारण नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको बताउनुभयो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमार्फत सुनमा लाग्दै आएको २ प्रतिशत विलासी कर हटाए पनि भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्याएका छन्। यही व्यवस्था चाँदीमा पनि लागू गरिएको छ।
भन्सार दर वृद्धिको प्रभाव चाँदीको मूल्यमा पनि देखिएको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँ रहेको चाँदी आइतबार ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ।
व्यवसायीहरूका अनुसार भन्सार शुल्क वृद्धिले सुनचाँदीको बजारमा प्रत्यक्ष प्रभाव पारेको छ भने उपभोक्ताले अब सुन तथा चाँदी खरिद गर्दा थप मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।
सुनचाँदी



