



काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
महानगरपालिकाको छात्रवृत्ति परीक्षा समितिको निर्णयअनुसार न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यताक्रमसहितको नतिजा आइतबार सार्वजनिक गरिएको हो। उक्त छात्रवृत्ति महानगरभित्र सञ्चालित संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८३-०८४ मा अध्ययनका लागि प्रदान गरिनेछ।
विद्यार्थीहरूले अनलाइन आवेदन भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड प्रयोग गरी नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ।
महानगरका शिक्षा अधिकारी तथा परीक्षा समितिका संयोजक नमराज ढकालका अनुसार प्रकाशित नतिजा प्रारम्भिक भएकाले चित्त नबुझेका विद्यार्थीले जेठ २० गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन्।
परीक्षामा एक विद्यार्थीले सर्वाधिक ९२ अङ्क प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका एक विद्यार्थीले ९१ अङ्क ल्याएका छन्। यस्तै, पाँच जना विद्यार्थीले ९० अङ्क प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
नतिजाप्रति चित्त नबुझेमा एक हजार रुपैयाँ राजस्व दाखिला गरी प्रवेशपत्रको प्रतिलिपिसहित जेठ २० गतेभित्र शिक्षा विभागमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ।
महानगरपालिकाले छात्रवृत्तिका लागि गत जेठ ३ गते सूचना प्रकाशन गरेको थियो। ८३ परीक्षा केन्द्रमार्फत सञ्चालन गरिएको परीक्षाका लागि २६ हजार ८८८ जनाले आवेदन दिएका थिए। तीमध्ये २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएको र २२ हजार २० जना विद्यार्थी परीक्षामा सहभागी भएको महानगरपालिकाले जनाएको छ।
काठमाडौँ महानगर छात्रवृत्ति


