Logo
२७ असार २०८३, शनिबार

सहरको वैभव र राइडरको पसिना

अक्षरपाटी
२०८३ असार २७ , शनिबार ०५:०७ मा प्रकाशित


o राम रावल

म अहिले चीनमा भएकोले यतैको कुरा गर्छु ल ।

विश्वशक्ति चीन । अनि यसका वैभवशाली सहर, जहाँ संसारका अर्बपति व्यापारीदेखि धनी कम्पनीहरुका आकाश छेड्ने टावरहरु छन् ।

यिनै भव्य टावर र धनाढ्यहरुको भिडमा राइडरहरु उछलकुद गरिरहेका भेटिन्छन् । उनीहरुलाई निथ्रुक्क पसिना पुछ्नेसमेत फुर्सत छैन । एकएक पैसा जुटाएर उनीहरु आफ्ना सपनालाई आकार दिन मरिहत्ते गरिरहेका छन् ।

लेखक : रावल

अधिकांश यी युवा कलेज पढिरहेका हुने रहेछन् । कलेज खर्च जुटाउन खाना ओसार्ने, कुरिअरको सामान पुर्‍याउने र राइड सेयरिङको काम गर्ने रहेछन् ।

चीनलाई के नपुग्दो थियो र ? उसले हासिल गर्न बाँकी के थियो र ? कलेज पढ्ने सबैलाई छात्रवृत्ति दिए हुन्थेन र ? निःशुल्क पढाइदिए हुन्थेन र ? अरु सुकिलो काम दिन सक्दैनथ्यो र ?

यी मोटरसाइकलमा खाना ओसारिरहेका, कार्गो बोकिरहेका युवकको हुल सडकबाट हटाइदिए के जान्थ्यो र ? यसो गर्दा सहर अझै सुन्दर देखिन्थ्यो कि ?

करिब ६३ खर्ब ९२ अर्ब आरएमबी ब्रान्डभ्यालु रहेको टेन्सेन्ट कम्पनीजस्ता सयौँ कर्पोरेट हाउसहरु यहाँ छन् ।

हुरुनको विश्व धनाढ्य सूचीअनुसार १११० अर्बपति चीनमै छन् । यो संख्या विश्वका कुनै पनि मुलुकको भन्दा बढी हो । फोर्ब्सको तथ्यांकले अर्बपतिहरूको संख्यामा चीन विश्वकै दोस्रो भन्छ ।

सर्वाधिक धनी बाइटडान्स (TikTok) का संस्थापक झाङ यिमिङको सम्पत्ति मात्र ५४ खर्ब ३९ अर्ब आरएमबी छ । फोर्ब्सले करिब ६९.३ अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको भनेको छ ।

त्यसपछि चोङ सान्सान र मा ह्वाटेङ आदिको नाम आउँछ । केही वर्षअघिसम्म अलिबाबाका संस्थापक ज्याक मा शीर्षस्थानमा थिए ।

यसरी धनाढ्यहरुको सूचीमा नयाँनयाँ नाम माथि चढ्दै छन् । चीनले गरिबीलाई शून्यमा झारिसकेको छ । मध्यमवर्गको विस्तार अपत्यारिलो ढंगले भइरहेको छ ।

यी धनाढ्य र ठूला कर्पोरेट हाउसहरुको संख्या एकातिर छ । समग्र अर्थतन्त्रकै कुरा गर्दा नेपालीहरुले वर्षभरिमा १४ सय डलर कमाउँदा चिनियाँहरुले १४ हजार कमाउँछन् ।

तैपनि चिनियाँ युवाहरु व्यस्त सहरका सडकमा राइड सेयरिङ (जस्तै Didi) र फुड डेलिभरी (Meituan, एक्सप्रेस मेल कुरियर (जस्तै SF Express, ZTO, YTO) हरूमा आबद्ध भई कुदिरहेका भेटिन्छन् ।

यहाँ उनीहरुलाई कसैले अपमान गरेको देखिँदैन । हेयको दृष्टिले हेरेको पनि पाइँदैन ।

उनीहरुलाई व्यवस्थित ढंगले काम गर्ने वातावरण बनाउन यहाँका संघीय सरकारदेखि नगरपालिकासम्मले काम गरेको पाइन्छ । सरकार, प्लेटफर्म र कामदार सबैको भूमिका स्पष्ट छ ।

कामदारको सुरक्षा र सेवाको गुणस्तर सुनिश्चित गर्न स्पष्ट नियम र प्रविधि-नियन्त्रित नियमनको व्यवस्था गरिएको छ ।

यस्ता कामदारको सुरक्षाका निम्ति मुख्य व्यवस्थाहरू यस्ता छन्:
अनिवार्य बिमा: सरकारले सबै प्लेटफर्मका लागि यो बिमा अनिवार्य गरेको छ ।

ड्राइभर/राइडरलाई प्रत्येक अर्डरमा न्यूनतम शुल्क (जस्तै, डेलिभरी अर्डरमा ०.०७–०.२५ युआन) तिरेर यो कोषमा योगदान गरिन्छ, जसले काम गर्दा हुने दुर्घटनाको जोखिमलाई सम्बोधन गर्छ ।

डेलिभरी समय ‘निश्चित विन्दु’ बाट ‘समयावधि’ (जस्तै, ७:०० बजेको सट्टा ७:००–७:३० बजे) बनाइएको छ । यसले राइडरको तनाव घटाउँछ । ढिलो डेलिभरीमा जरिवाना लगभग हटाइएको छ ।

यसको सट्टा सेवाको गुणस्तर र सन्तुष्टिका आधारमा उपभोक्ताले ‘स्टार’ दिन्छन् र त्यसैका आधारमा पुरस्कार र चेतावनी दिइन्छ ।

लगातार ४ घण्टा काम गरेपछि मोबाइलबाटै थकानको चेतावनी दिइन्छ । १२ घण्टा काम गरेपछि राइडरलाई अनिवार्य रूपमा लाइनबाट बाहिर निकालिन्छ ।

योजनाअन्तर्गत राइडर र ड्राइभरलाई किफायती आवास उपलब्ध गराइन्छ । सन् २०२६ मा ७,००० शय्या र ३०० कोठाको लक्ष्य राखिएको छ ।

आराम र चार्जिङको सुविधाका लागि ठाउँठाउँमा ‘राइडर स्टेसन’ र ‘ड्राइभर होम’ बनाइँदै छ ।

डेलिभरी राइडरलाई खानाको गुणस्तर निगरानी गर्न सूचकको रूपमा परिचालन गरिएको छ । उनीहरूले एपमार्फत अशुद्ध भान्सा वा अवैध सञ्चालनको फोटो खिचेर रिपोर्ट गर्न सक्छन् र पुष्टि भएमा पुरस्कृत पनि हुन्छन् । म बसिरहेको हाइदियन जिल्लामा मात्र १,००० भन्दा बढी राइडरलाई यो काममा खटाइएको छ ।

खानाको प्याकेटमा ‘सुरक्षा सिल’ अनिवार्य गरिएको छ, जसले खाना डेलिभरीको क्रममा छेडछाड नभएको सुनिश्चित गर्छ । यसले उपभोक्ता र राइडरबीचको विवाद पनि कम गर्छ ।

नयाँ ‘फ्रन्ट-डोर रिस्पोन्सिबिलिटी’ (門前三包) नियमले डेलिभरी राइडर र फुड डेलिभरी प्लेटफर्मलाई आफ्ना सवारी साधन मर्यादित स्थानमा पार्क गर्न र ट्राफिक अवरोध नगर्न अनिवार्य गरेको छ, जसले सहरको भिडभाड कम गर्न मद्दत गर्छ ।

एउटा महत्त्वपूर्ण पक्ष के भने यी नीतिहरू सरकारले माथिबाट लादेको होइन । बरु सबै पक्षको सहभागितामा बनाएको हो ।

राइडर, पसल र प्लेटफर्मबीच औपचारिक वार्ता गरेपछि उनीहरुको भूमिका, दायित्व र लाभको बाँडफाँट गरिन्छ । यसैका आधारमा शुल्कको पारदर्शिता, कामदारको पारिश्रमिक र कामको समयलाई नियमन गरिन्छ ।

राइड सेयरिङ क्षेत्रको आय संरचनालाई पारदर्शी र निष्पक्ष बनाउन प्रमुख प्लेटफर्महरूले अलग-अलग कदम चालेका छन् ।
हरेक कोणबाट यी नयाँनयाँ प्रकारका सेवा र सुविधामा युवालाई आबद्ध हुन सहजीकरण गरिएको छ ।

यहाँ न धनको अभाव छ, न धनी कम्पनी र व्यक्तिको । तर पनि गरी खाने वर्ग अर्थात् सडकमै श्रम गर्ने व्यक्तिहरुप्रति सम्मानजक व्यवहार र सहजीकरण गरिन्छ ।

बाटाभरि बाइकमा फुड डेलिभरी गर्नेहरुको लर्को देखिन्छ । सबैभन्दा बढी हतार र धपेडीमा उनीहरु नै देखिन्छन् । उनीहरुकै सुविधाका लागि आकाशे पुसलमा समेत बाइक चढाउन मिल्ने बनाइएको छ । ठाउँठाउँमा उनीहरुलाई रोकिने र आराम गर्ने र सामान बुझाउने ठाउँ बनाइएको छ । सडकपेटीमा उनीहरुलाई लक्षित गरी विशेष ठाउँ छाडिएको छ । त्यसैले कतैकतै सडकका पेटीमा समेत उकालिरहेको देखिन्छ ।

अर्थात्, उनीहरुलाई निर्धक्क काम गर्न दिइएको छ ।
किन त ?

किनभने, चिनियाँ नीति निर्माताहरुलाई राम्रोसँग थाहा छ कि यो वैभव हासिल गर्न ती प्रत्येक श्रमशील नागरिकको धपेडीपूर्ण क्रियाशीलताबाट सम्भव भएको हो । तिनले चुहाउने प्रत्येक पसिनाका थोपा नै वैभव हासिल गर्ने मोतीका बिन्दु हुन् । चीनको प्रत्येक उन्नतिमा ती श्रमशील र सिर्जनशील (मेहनत र आविष्कार) को उत्तिकै योगदान छ ।

(तस्बिर: रनमिन विश्वविद्यालयको पर्खालमा खानेकुरा राख्न बनाइएका खोपाअगाडि फुड डेलिभरी गर्ने युवकहरू)

(नेपालका प्रख्यात पत्रकार यतिबेला विशेष अध्ययनको सिलसिलामा चीनमा हुनुहुन्छ।)